खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बागमतीबाट ५ सय खसीबोका खरिद गर्दै

बागमती: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्ज शाखाले मकवानपुरबाट ५ सय खसी बोका खरिद गर्दैछ । नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरेर कम्पनीले यस पटक पनि खसीबोका किन्न लागेको हो ।

कार्यालयका सूचना अधिकृत समिर दाहालका अनुसार, आज शुक्रबारदेखि मकवानपुरको बागमती गाउँपालिकासँगको सहकार्यमा खसी बोका खरिद कार्य सुरु गरिँदै छ । यसवर्ष बागमती गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच लिखित सम्झौतानै गरेर सोही पालिकाबाट मात्र खसी बोका खरिद गर्न लागिएको हो।

खसीबोका खरिदबिक्रिका लागि गत बुधबार कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम  बहादुर दर्जीले जानकारी दिनुभयो। पालिका र कम्पनी बीच भएको सम्झौता अनुसार खसी बोका खरिदस्थलसम्म ल्याउने र खरिद भएपछि कम्पनीको प्रादेशिक कार्यालय थापाथलीसम्म ढुवानी गरी लग्ने जिम्मेवारी पनि बागमती गाउँपालिकाको कार्यालयले बहन गर्ने छ । असोज २० सम्म खरिद कार्य जारी राखिने र त्यस अघिनै लक्षित संख्यामा खसी बोका खरिद भए खरिद बन्द गरिने दाहालले बताए । यसअघि लगातार दुई वर्ष पनि कम्पनीले बागमतीबाट खसीबोका खरिद गरेको थियो। बागमतीमा सुरुको वर्षमा १ सय ५ वटा र दोस्रो वर्ष ३ सय ५० वटा खसीबोका खरिद गरेको कम्पनीले यसवर्ष भने ५ सय वटा खसीबोका किन्ने भएको छ ।

गाउँपालिकाको ६ नम्बर वडाबाहेक ८ वटा वडाका बाख्रापालक कृषकहरुले आज शुक्रबार वडा नम्बर ८ स्थित फापरबारीमा उपस्थित भएर खसीबोका बिक्री गर्न सक्नेछन् । ६ नम्बर वडाका किसानहरुले भने शनिबार बेच्न सकिने जनाइएको छ । जिउँदो खसी २० देखि २५ केजीसम्मलाई प्रतिकेजी ५ सय ८५ रुपैयाँ, २५ केजीभन्दा माथिलाई प्रतिकेजी ६ सय ५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, १८ केजीभन्दा माथिका बोकालाई प्रतिकेजी ५ सय ७० रुपैयाँ खरिद मूल्य तोकिएको छ । कृषकहरुले खसीबोका बेचेको रकम सोही स्थानमै प्राप्त गर्ने प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *