

यादवराज बराल
“विद्वान प्रशस्यते लोके विद्वान गच्छति गौरवम, विद्यया लम्भते सर्व विद्या सर्वत्र पुज्यते” अर्थात संसारमा जे जति पनि परिवर्तन, खोज र आविस्कारका कार्यहरु सम्भव भएका छन् ती विद्वानहरुकै प्रयासले सम्भव भए, यसरी विद्वान/सीपयुक्त व्यक्ति उत्पादन गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षा आफैमा महान छ । नेपालको इतिहासमा विद्यालय शिक्षालाई जीवन उपयोगी बनाउने उद्देश्य ले विद्यालय तहमा व्यावसायिक सीप सिकाउने प्रयास वि.सं. २००४ सालदेखि नै सुरु भएको पाइन्छ । देशभित्र प्राविधिक जनशक्ति उत्पादन गर्ने सन्दर्भमा देखिएका विभिन्न समस्याहरुलाई मध्यनजर राखी सन् १९८० मा “प्राविधिक शिक्षालय योजना” लागू गरियो । जुन योजनाले निम्न आवश्यकताहरुको परिपूर्ति गर्ने उद्देश्य राखेको पाइन्छ ।
- देशमा सञ्चालित सामाजिक-आर्थिक विकास कार्यक्रमका लागि चाहिने आधारभूत तथा मध्यम स्तरका प्राविधिकसीपयुक्त जनशक्ति उत्पादन गर्ने,
- एकिकृत ग्रामिण विकास कार्यक्रम सञ्चालित क्षेत्रमा आवश्यक सङ्ख्यामा सीपयुक्त जनशक्ति परिपूर्ति गर्ने,
- पढाई बिचैमा छाड्नेलाई स्थानीय तहमै रोजगार प्रदान गर्नका साथै गाउँबाट शहरको वसाईसराई दुरुत्साहित गर्नका लागि केही सीप सम्बन्धी तालिम दिने,
- विभिन्न निकायद्वारा सञ्चालित तालिम कार्यक्रमलाई मान्यता प्रदान गर्न उपयुक्त समन्वय कायम गर्ने र
- सीप परीक्षण तथा उपलब्ध सीप सम्बन्धि तालिमको स्तरलाई संस्थागत गरी प्रमाणीकरण गर्ने
यसै सन्दर्भमा प्राविधिकशिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन २०४५ पारित भई देशमा प्राविधिकशिक्षाको विकास र विस्तारका लागि ” प्राविधिकशिक्षा तथा व्यावसायिक तालीम परिषद” नामक स्वायत्त सस्था गठन भयो । प्राविधिकशिक्षा तथा व्यावसायिक र तालिमले गरिबी र बेरोजगारी कम गराई आर्थिक विकास को राष्ट्रिय लक्ष्य हाँसिल गर्न टेवा पुर्याउने तथ्य निर्बिबाद छ । प्राविधिकशिक्षा तथा व्यावसायिक शिक्षा र तालीमले व्यक्तिलाई “बोली खाने भन्दा गरी खाने” बनाउदछ । “सीपयुक्त नेपाल, र सम्बृद्ध जनता” को लक्ष्य बोकेको संस्थाका केही आङ्गिक र सामुदायिक विद्यालयमा सञ्चालित कार्यक्रमको अवस्था हेरौ है त ?
२०३० सालमा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने हेतुले स्थापना भएको यो शिक्षालय निकै भद्रगोल र अव्यवस्थित थियो ।त्यसैगरी सीटीईभीटीको आफ्नै आङ्गिक शिक्षालय रामेछाप बहुप्राविधिक शिक्षालयमा प्रत्येक विषयमा हरेक वर्ष ४०/४० जना भर्ना हुने सङ्ख्या निर्धारण गरिएकोमा गतवर्ष एकजना पनि विद्यार्थी भर्ना भएनन । १५ असार २०८१ मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पनिकाबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि डिप्लोमा तहकाका विभिन्न कार्यक्रममा ५ हजार ४१०जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको थियो ।डिप्लोमा तथा प्रमाणपत्र तह कार्यक्रममा ३ हजार ७६३ जना र प्रि डिप्लोमा तहकालागि एक हजार ६४७ जना विद्यार्थीलाई वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको थियो । इच्छुक विद्यार्थीबाट साउन ४ गते शुक्रबारभित्र रितपूर्वक आवेदन फाराम माग गरेको थियो । सीटीईभीटीद्वारा सञ्चालित विभिन्न कार्यक्रममा विद्यार्थीको आकर्षण घटेसंगै पटक-पटक प्रवेश परीक्षाको मिति तोकिरहेको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र सीटीईभीटीद्वारा सञ्चालित प्राविधिकशिक्षालयहरुको मात्र कुरा गर्ने हो भने यस नगर भित्र एउटा आङ्गिक कलेज र आठ वटा सामुदायिक माध्यमिक विद्यालयहरुले अनुमति लिएर विभिन्न कार्यक्रमहरु सञ्चालनन गरिरहेका थिए । जस्तै:
1. त्रिभुवन मा.वि. नवलपुर : तिन वर्ष अघि सम्बन्धन लिएर खाद्य प्रविधिमा काम लाग्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालित तीन वर्षे डिप्लोमा इन फुड एण्ड डेरीको कार्यक्रम सञ्चालनन गरेको थियो । बिगतका दुई वर्ष विद्यार्थीको खासै आकर्षण नभए पनि कार्यक्रम सञ्चालनन भइनै रह्यो । यो वर्षको (२०८१) फस्ट इयर फस्ट सेमेस्टर कार्यक्रममा एकजना पनि विद्यार्थी भर्ना नहुँदा हाल सञ्चालित कार्यक्रमका लागि ल्याब ब्यबस्थापन र शिक्षण अनुदान उपलब्ध गराउन नसक्दा त्यस शिक्षालयमा सञ्चालित कार्यक्रम अगाडि बढाउन कठिन रहेको प्रधानाध्यापक हस्तलाल श्रेष्ठ बताउनुहुन्छ ।
2. निर्मल मा.वि. वस्तीपुर : तिन वर्षे डिप्लोमा इन इलेक्ट्रिक इन्जिनियरिंङ्ग कार्यक्रम गत साल नै बन्द भैसकेको छ ।
3. सिद्धार्थ मा.वि. हेटौंडा पनि यी समस्याबाट अछुतो रहन सकेन । यो वर्ष केही विद्यार्थी सम्पर्कमा आएका भएपनि डिप्लोमा इन फरेस्ट्री कार्यक्रम सञ्चालननका लागि विद्यार्थीलाई भर्ना गराएर कार्यक्रम सञ्चालनन गर्न नसकिएको प्रधानाध्यापक परमानन्द सरोज कर्ण बताउनुहुन्छ ।
4. हेटौंडा उपमहानगरको मुटुमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयमा तिन वर्षे सिभिल इन्जिनियरिंङ्ग सीटीईभीटी र विभागको ९-१२ कार्यक्रम सञ्चालन भएता पनि सीटीईभीटीको कार्यक्रम, विद्यार्थी अभावमा यो वर्ष सञ्चालनन गर्न नसकिएको सहायक प्रधानाध्यापक भरत पोखरेल बताउनु हुन्छ ।
5. वंशगोपाल मा.वि. चौघडामा सीटीईभीटीका दुईवटा डिप्लोमा कार्यक्रमहरु सञ्चालननमा रहेका छन् तर यो वर्ष ती कार्यक्रममा विद्यार्थी भर्ना नहुदा गत सालहरुमा भर्ना भएका विद्यार्थीलाई छैठौ सेमेस्टर सम्म सहयोग गर्न सके हुन्थ्यो भन्ने अवस्थामा विद्यालयपुगेको छ ।
6. जनप्रिय मा.वि. हटियामा भने नेपाल सरकारको सम्बन्धनमा ९-१२ कृषि प्राविधिकअध्ययन हुने भएपनि त्यस विद्यालयले सीटीईभीटीको अनुमतिमा इलेक्ट्रिकल इन्जिनियरिंङ्ग, प्लान्ट साइन्सका १८ महिने र तिन वर्षे कार्यक्रम त्यसैगरी एनिमल साइन्सका १८ महिने र तिन वर्षे कार्यक्रम गरी पाँचवटा कार्यक्रम सञ्चालनन गरेको छ l तर पनि विद्यार्थीको चाप नरहेकाले पाँचवटा कार्यक्रममा लगभग ३०-३५ विद्यार्थी मात्र हाल रहेको र एस.ई.ई. पूरकको नतिजा पछि केही विद्यार्थी सङ्ख्या बढ्ने आशामा प्रधानाध्यापक भुपेन्द्र चौलागाईं हुनुहुन्छ ।
7. हेटौंडा १८ मा अवस्थित ज्योति मा.वि. मा सञ्चालित तीन वर्षे कम्प्युटर साइन्समा अहिले सम्म १० जना विद्यार्थी मात्र सम्पर्कमा रहेको र पछि माध्यमिक शिक्षा उतीर्ण पूरक परीक्षा (एस.ई.ई.)को नतिजा पछि केही विद्यार्थी थपिने आशामा प्रधानाध्यापक जयराम थापा हुनुहुन्छ ।
8. हेटौंडा १५ को जनजागृति मा.वि. रातोमाटेमा १८ महिने अटो मोबाइल्स प्री-डिप्लोमा कार्यक्रम सञ्चालननमा रहेको छ । हालसम्म ९ जना प्रशिक्षार्थी रहेकोमा एस.ई.ई.को पूरक परीक्षाको नतिजासंगै केही विद्यार्थी थपिने आशामा प्रधानाध्यापक केशव संजेल हुनुहुन्छ ।
सिटीईभिटीको आफ्नै आङ्गिक एक मात्र शिक्षालय रहेको नेपाल भारत बहुप्राविधिकमा सञ्चालित तीन वर्षे मेकानिकल इन्जिनियरिंङ्ग कार्यक्रममा यो रिपोर्ट तयार गर्दा सम्म नौ जना विद्यार्थी रहेको उक्त शिक्षालयले जनाएको छ ।
उल्लेखित हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालित सिटीईभिटीका विभिन्न कार्यक्रममा यो वर्ष प्रशिक्षण लिईरहेका विद्यार्थीको उपस्थिति दर ०% देखि अधिकतम २५% सम्म मात्र रहेको पाईन्छ । यसबाट स्पष्ट हुन्छ की स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले प्राविधिकजनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गर्ने रणनीति बालुवामा पानी जस्तै भएको छ । कार्यक्रम सञ्चालनन गर्ने अनुमति दिएर मात्र कार्यक्रम निरन्तर सञ्चालननमा आउन सक्दैन; जसका लागि नियमित रुपमा प्रशिक्षक तलब भत्ता, ल्याब खर्च, अनुगमन र नियमन हुनु जरुरी छ । ५०% भन्दा बढी विद्यार्थीको भर्ना तथा परीक्षामा सहभागिताको आधारमा दिइने न्यूनतम सरकारी अनुदान (सात लाख)ले १८ महिने कार्यक्रमका लागि केही सहयोग पुग्ने भएपनि तीन वर्षे जुनसुकै कार्यक्रमका लागि असाध्यै न्यून हुन जान्छ । ०-२५% भर्ना अनुसार अधिकांश शिक्षालय उक्त शैक्षिक अनुदानबाट वन्चित हुन्छन् नै । त्यसैगरी प्रयोगशाला सामग्री खरिदपछि उपलब्ध गराउने सोधभर्नाको तीन लाख रुपैयाँ प्राप्त गर्न उत्तिकै झन्झटिलो रहेको छ । त्यसकालागि पनि ५०% भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएको हुनुपर्छ । जसले गर्दा हेटौंडा उपमहानगर भित्र सञ्चालित आठ वटा प्राविधिकशिक्षालयहरू मध्ये एउटा शिक्षालय बन्द भैसकेको छ भने चारवटा शिक्षालय “भिरमा फलेको फर्सी” झैँ भएका छन् भने बाँकी तीन शिक्षालय पनि मुस्किलले चलेका छन् । ती शिक्षालयको यो अवस्थाको जिम्मेवारी कसले लिने? भन्ने आम नागरिकको चासो रहेको छ ।
हरेक स्थानीय तहले चाहेमा आफ्नो पालिका र त्यस अन्तर्गतका वडामा प्राविधिककाम गर्न सक्ने जनशक्तिका लागि वडा र पालिकाले लगानी गर्न र पालिका भित्रबाट छात्राका लागि सतप्रतिशत र छात्रका लागि पचास प्रतिशत मात्र भए पनि छात्रवृति उपलब्ध गराउन सक्छ । जसको उदाहरण स्वरूप तुलसीपुर मेट्रो कलेज तुलसीपुर बहुप्राविधिकशिक्षालय, दाङ्गलाई लिन सकिन्छ । मेट्रो कलेज प्रमुख वसन्त आचार्यका अनुसार उपमहानगरको सम्पूर्ण लागत, व्यवस्थापन र अनुगमनमा शिक्षालय सञ्चालित छ । त्यहाँको वडा र पालिका आफ्नो वडा र उपमहानगर भित्र चाहिने जनशक्ति जस्तै सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियङ्ग, इलेक्ट्रोनिक्स इन्जिनियर्रीङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्निसियन, स्वास्थ्य साहायक, सि .एम .ए . आदि एउटा छाना मुनि आफ्नै लगानीमा आवश्यक जनशक्ति उत्पादन गरी रोजगार दिने गर्दछन । त्यसैगरी उक्त शिक्षालयले कानुनका प्रमाणपत्र र स्नातकका कार्यक्रमहरुमा पनि पहिलो प्राथमिकतामा आफ्नो पालिकाको विद्यार्थी भर्ना गर्ने र केही सिट बाँकी बसेमा मात्र अन्यत्रका विद्यार्थीले प्राविधिकर कानुनको अध्ययनको अवसर पाउने प्रमुख आचार्य बताउनु हुन्छ । उक्त उदाहरणबाट सरकारी ईच्छा शक्ति भएमा असम्भव केही छैन भन्ने पुष्टि हुन्छ ल अहिलेको प्राविधिकशिक्षाको अवस्था हेर्दा सरोकारवालाहरु संग अब यसलाई मास्ने की साँच्ने ? भन्ने मात्रै विकल्प बाँकी रहेको छ । के हाम्रो स्थानीय सरकारले प्राविधिकशिक्षामा अपनत्व ग्रहण गर्न सक्ला त ?
-लेखक त्रिभुवन मा.वि हेटौंडा ११ का माध्यमिक तहका शिक्षक हुनुहुन्छ ।
सुझाव तथा सल्लाहका लागि yadavrajbaral@gmail.com
