बागमती: मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा जनश्रमदानबाट सडकको स्ल्याब ढलानको कार्य भएको छ l गाउँपालिका अध्यक्ष सर्केश घलानको विशेष पहलमा हिजो बिहिबारदेखि गाउँपालिको कार्यालय गेट अगाडि रहेको वडा नं. ४ झुरझुरे स्थित अधुरो रहेको सडकको करिब १४ मिटर लम्बाइको स्ल्याब ढलानको काम जनश्रमदानबाट आज शुक्रबार सम्पन्न गरेको हो ।
स्ल्याब ढलानका लागि गाउँपालिका अध्यक्ष, स्थानीय जनता र कर्मचारी सहित ३० जनाले जनश्रमदान गरेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव मनोज बलले जानकारी दिनु भयो।
जनश्रमदानबाट स्ल्याब ढलान भएको सडकको लम्बाइ १३.८५ मिटर, चौडाइ ११.०५ मिटर र उचाइ ०.१३ मिटर रहेको गाउँपालिकाका प्राविधिक सबइन्जिनियर राजेन्द्र बहादुर बोहराले जानकारी दिनु भयो l २ लाख २३ हजार तीन सय आठ रुपैयाँ प्राविधिक लागत अनुमान गरिएको उक्त सडकको स्ल्याब ढलानको काममा ९१ हजार ७ सय आठ रुपैयाँ मुल्य बाराबारको जनश्रमदान भएको गाउँपालिकाका सबइन्जिनियर बोहराले बताउनु भयो ।
स्ल्याब ढलानका लागि संजय निर्माण सेवा प्रालिले २० बोरा, शिवालय विल्डर्सले १५ बोरा, नेहरिका विल्डर्स प्रालिले २ बोरा सिमेन्ट सहयोग गरेको छ भने बागमती गाउँपालिकाबाट सिमेन्ट १५ बोरा, गिट्टी १३ घनमिटर, बालुवा ८ घनमिटर निर्माण सामग्री लागेको र पालिकाको आफ्नै मेसिन औजार उपयोग गरी स्ल्याब ढलान गरिएको सबइन्जिनियर बोहराले बताउनु भयो ।
बागमती गाउँपालिकाम पालिका अध्यक्ष सर्केश घलानको पहलमा विभिन्न आयोजनाहरुमा निरन्तर श्रमदान गर्ने कार्य भइरहेको छ ।