

बागमती, मकवानपुर । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाले हरेक वर्ष आयोजना गर्दै आइरहेको गोल्डकप निर्माणधीन रंगशालामा आयोजना गरिने बताउनुभएको छ । सातौँ संस्करणको बागमती राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता बागमती-४ स्थित द्रुत गतिमा निर्माण भैरहेकाे सहिद स्मृति रंगशाला झुरझुरेमा आयोजना गर्ने तयारीका साथ पालिका अघि बढेको अध्यक्ष घलानले बताउनुभयो ।
अध्यक्ष घलानका अनुसार अहिले रंशगाला निर्माणको प्रगति ८७ प्रतिशत भएकाले अबको एक महिनाभित्रमा रंगशालाको निर्माण कार्य सम्पन्न हुनेछ । निर्माण कम्पनीले पनि एक महिनाभित्र कार्य सम्पन्न गर्ने बताएको उहाँले जानकारी दिनुभयो । युवाहरुलाई खेलकुदमा जोड्न सरकारले वातावरण पनि तयार गर्नुपर्ने उहाँको भनाइ छ । जसमा भौतिक संरचना महत्वपूर्ण हुने भन्दै उहाँले गाउँपालिकाले आफ्नै बजेटमा मिनी रंगशालामा निर्माण गर्न लागि परेको बताउनुभयो ।
पालिकाले व्यावसायिक र राष्ट्रिय खेलाडी उत्पादनका लागि जग बनाउने काम गरेको उहाँको दाबी छ । गाउँपालिकाले खेलकुदमा गरिरहेको लगानीको विस्तारै नतिजाहरु पनि देख्न थालेको अध्यक्ष घलानले बताउनुभयो । अहिले बागमती गाउँपालिकाका किशोर खेलाडीहरु विभिन्न प्रतियोगिताका लागि विभिन्न उमेर समूहमा छनौट भइरहेका छन् । विगतमा भन्दा खेलकुद क्षेत्र पनि सुधार हुँदै गइरहेको भन्दै उहाँले सरकारले अब खेलाडीहरुलाई व्यावसायिक खेलाडी बनाउन लगानी गर्नुपर्ने बताउनुभयो । राज्यले खेलाडीलाई खेलमा भविष्य देखाउन सक्नुपर्ने भन्दै उहाँले तीन वटै तहका सरकारले विशेष प्राथमिकता दिएर लगानी खेर जान नदिने गरी काम गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष घलानले गाउँपालिकाभित्र आवश्यकताअनुसार अरु खेल मैदान निर्माण गर्ने बताउनुभयो । गाउँपालिकाको स्रोत साधनको प्रयोग गर्दै युवाहरुलाई पनि सहभागी गराई काम गर्ने उहाँले बताउनुभयो । अध्यक्ष घलान, बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुुलामी, गाउँपालिकाका कर्मचारीलगायतका टिमले शनिबार रंगशालामा श्रमदानसमेत गरेका थिए । शनिबार रंगशालामा माटो फिलिङ गर्ने र सतह मिलाउनेजस्ता अन्य कामहरु भएको थियो । शनिबारको दिन पारेर सबै जनालाई श्रमदानमा जोड्न रंगशालामा श्रमदान आयोजना गरिएको अध्यक्ष घलानले बताउनुभयो । सबैजना श्रमदानमा जोडे राज्यको कम लगानीमा पनि परिणाम दिने काम हुने उहाँ बताउनुहुन्छ । उहाँले युवाहरुलाई खेलकुदको माध्यमबाट विकासमा जोड्नुपर्ने पनि बताउनुभएको छ ।
