बागमतीको सहिद स्मृति रङ्गशाला निर्माणको अन्तिम चरणमा

बागमती: मकवानपुरको पूर्वी बागमती गाउँपालिकाले आफ्‌नै लगानीमा फुटवल रङ्गशाला निर्माण गरिरहेको छ। वडा नम्बर ४ स्थित झुरझुरेमा निर्माणाधीन सहिद स्मृति रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पालिकाले गत आर्थिक वर्ष २०८०/०८१ को असोज १७ गते ठेक्का आ‌ह्वान गरी रङ्गशालानिर्माणको काम अगाडि बढाएको हो ।

उक्त निर्माणाधीन रङ्गशाला सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितासमेत आयोजना गर्ने तयारीका साथ गाउँपालिका अघि बढेको छ। यसअघि प्यारापिटसहितको खेलमैदान नहुँदा पहिलोदेखि छैटौं संस्करणसम्म वडा नम्बर ८ स्थित जनता माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको पालिकाले यसपटक भने आफ्‌नै रङ्गशालामा प्रतियोगिता गराउने तयारी गरेको हो। रङ्गशाला निर्माण आयोजनाको प्राविधिक अनुमानित लागत ३ करोड ७८ लाख १५ हजार ४ सय ८२ रुपैयाँ रहेको छ । आयोजनाको ठेक्का मकवानपुरको हेटौडा-५ को सञ्जय निर्माण सेवा प्रालिले पाएर अहिले काम गरिरहेको छ। आयोजनाको ठेक्का रकम ३ करोड ९ लाख ५२ हजार ७ सय ५७ रुपैयाँ रहेको छ ।

 

 

 

 

 

 

निर्माण कम्पनीले १५.९९ प्रतिशत न्यून रकम कबोल गरेर ठेक्का हात पारेको गाउँपालिकाका सवइन्जिनियर राजेन्द्र हादुर बोहराले जानकारी दिनुभयो । गाउँपालिका र निर्माण व्यवसायीबीच गत माघ ४ गते सम्झौता भएको र सम्झौताअनुसार आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको माघ ३ गतेसम्ममा सम्पन्न गर्नु पर्ने सवइन्जिनियर बोहराले बताउनुभयो ।

रङ्गशाला निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । हालसम्म रङ्गशालाको निर्माण कार्य करिब ८७ प्रतिशत सम्पन्न भएको अर्का सवइन्जिनियर काशी रावलले बताउनुभयो । अब बाँकी कार्य एक महिनाभित्र सकाउने निर्माण कम्पनीको दाबी छ। निर्माण सम्पन्न भएपछि रङ्गशाला दुबो हाल्ने र घेराबारका कार्य हुनेछ। सोही रङ्गशाला पालिकाले सातौं सस्करणको गोल्डकपसमेत आयोजना गर्ने तयारी गर्दैछ ।

२२ हजार ९ सय २५ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन रङ्गशालाको खेलमैदानको उत्तर-पश्चिम दिशामा ६२ मिटर लम्बाई र १२.५ मिटर चौडाईको प्यारापिट बन्दैछ । प्यारापिट करिब २ हजार ५ सय दर्शक अटाउने क्षमताको रहेको छ। अहिले रङ्गशालाको ट्रस (छाना) सहितको प्यारापिट, ड्रेन (नाला), फैन्सीङ वायरसहितको घेराबार, ड्रेस चेञ्जिङ रुम, शौचालयको निर्माण कार्य भइरहेको सवइन्जिनियर रावलले जानकारी दिनुभयो।

 

 

 

 

 

 

 

 

 

 

 

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.