बागमती: मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ निवासी गणेश बहादुर राई अहिले दङ्ग र त्रसित छन् । केही दिन अघि विद्युत् प्राधिकरणबाट विद्युत् महशुलको बिल आयो । मिटर रिडरले घरैमा ल्याएको महशुलको बिल देखेर उहाँ आत्तिनुभयो ।
चिट लिएर घर आइपुगेका मिटर रिडरलाई राईले अबदेखि आफूले विजुली प्रयोग नगर्नेसम्मको कुरा गर्नुभयो । करिब तीन महिनाको १ सय रुपैयाँ पनि नउठेको महशुल ८ लाख ४४ हजार ७ सय ३१ रुपैयाँको चिट राईले पाउनुभएको थियो । टायलको छाना, बाँसले बारेर लिपेको घरमा राईले तीन वटा मात्र बत्ती बाल्दै आइरहेको छ । राईको घरमा कुनै विद्युतीय मेसिनरी सामान,टिभी, पङ्खा र फ्रिज लगायतका सामग्री प्रयोग हुने गरेको छैन । विगतमा मासिक एक युनिटको हाराहारीमा मात्र मिटर उठ्ने गरेको राईले बताउँनुभयो । अहलिे भने विद्युत् प्राधिकरणबाट बिल ८ लाखको आएपछि उहाँ तनावपूर्ण अवस्थामा हुनुहन्छ ।
यसमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रको लापर्वाहीका कारण उहाँ अहिले मानसिक तनाव सहित हटौंडा आवतजावत गर्दै कष्ट भोगिरहनु भएको छ ।
प्राधिकरण हेटौंडाका प्रमुख शिवराम मिश्रले प्राधिकरणको गल्ती भएको स्वीकार्नु भएको छ । मिटर रिडरले गलत नम्बर टिप्दा र गलत पोष्टिङ गर्दा यस्तो हुन पुगेको हुन सक्ने उहाँले बताउनुभयो । उहाँको अनुसार उक्त समस्याको कारण पहिचान गरिरहेको छ । राईले संशोधन फारम भरिसकेपछि उक्त ८ लाख रुपैयाँ तिर्नु नपर्ने प्रमुख मिश्रको भनाई छ । यस्तै प्राधिकरण फापरबारी वितरण केन्द्रका लेखापालले पनि मिटर रिडर र बढी युनिट पोष्टिङ गर्दा समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार राईको मिटरबाट हालसम्म मासिक एक युनिट मात्र महशुल उठ्ने गरेको बताउनुभयो ।
उक्त समस्या देखेपछि राईलाई हेटौंडा वितरण केन्द्रमा पठाइएको थियो । आइतबार मात्र राई हेटौंडा आएर आफ्ना समस्या राखेपछि प्राधिकरणका कर्मचारीले समस्याबारे फोनबाट जानकारी गराउने बताएपछि उनी घर फर्किएका छन् ।