बागमती: पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेर केही दिन यता केही सञ्चार माध्यम तथा समाजिक सञ्जालबाट भ्रामक समाचारहरु सम्प्रेषण गरेको भन्दै पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
गाउँपालिकाले आज प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार माध्यमहरुलाई आम जनमानसमा भ्रम श्रृजना हुने गरी अतिरञ्जित, कपोकल्पित, भ्रामक, तथ्यहिन, अफवाहपूर्ण, दुष्प्रचारयुक्त समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरी आर्थिक “अनियमितता सम्वन्धी” जनमानसमा भ्रम सृजना हुने गरि राजनितिक प्रतिशाेधकाे भावले सम्प्रेषण भएकाे समाचारमा कुनै सत्यता नरहेकाे बागमती गाउँपालिकाका प्रवक्ता कमान सिँ पाख्रिनद्वारा प्रेस विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण गराएका छन ।
प्रकाशित विज्ञप्तिमा भनिएको छ, केही दिन यता यस वागमती गाउँपालिका, मकवानपुरसँग सम्बन्धित विषयहरुमा विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्जालको माध्यमबाट प्रकाशित समाचारहरु प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ। गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरी आर्थिक अनियमितता सम्बन्धी आम जनमानसमा भ्रम श्रृजना हुने गरी अतिरञ्जित, कपोकल्पित, भ्रामक, तथ्यहिन, अफवाहपूर्ण, दुष्प्रचारयुक्त तथा राजनीतिक प्रतिशोधको भावले सम्प्रेषण भएको समाचारमा कुनै सत्यता नरहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।
यस गाउँपालिकाकाको महालेखा परीक्षकको कार्यालयबाट जारी भएको केही आ. व. हरुको वार्षिक लेखा परीक्षण प्रतिवेदनमा समेत उल्लेख नभएका र उल्लेख भएका विषयमा सत्यतथ्य तोडमोड गरी प्रकाशन गरिएको देखिन आएको हुँदा सो प्रतिवेदनलाई बौद्धिक तवरबाट अध्ययन गर्नु हुन सबैमा अनुरोध छ।
समाज र राष्ट्र निर्माणमा सबैको सकरात्मक भूमिका आवश्यक हुन्छ। आम जनमानसलाई सुसूचित एवम् सचेत गराउन तथा बेथितिका विरुद्ध खबरदारीको लागि जिम्मेवारी लिनु भएका देशको चौथो अङ्गको रुपमा परिचित सञ्चारकर्मी तथा सम्बन्धित सञ्चार माध्यमलाई विषयबस्तुहरु प्रति गम्भिर खोज अनुसन्धान गरी सत्यतथ्य तथा यथार्थ सूचनाहरु सम्प्रेषण गरिदिनुहुन सबैमा अनुरोध छ।
यस गाउँपालिकाको विकासको लागि आम जनाताको माग मुद्दा एवम् जनभावनालाई उच्च प्राथमिकतामा राखेर गाउँपालिकाको समृद्धि तथा सुशासनको लागि निरन्तर लागि रहेको र यस कार्यमा सबैको साथ सहयोगको अपेक्षा गर्दछौं, गाउँपालिकाका प्रवक्ता कमान सिं पाख्रिनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।