बागमतीमा ३ सय ३९ मध्ये २७ विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य

बागमती : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका मकवानपुरको बागमती गाउँपालिकाका २७ जना (७.९६ प्रतिशत) विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । यस वर्ष बागमती गाउँपालिकाबाट ३ सय ३९ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसईईको नतीजा अनुसार बागमती गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयमध्ये २ वटा विद्यालयका एकजना विद्यार्थी पनि कक्षा ११ मा भर्ना हुन योग्य भएनन् ।
जनता माविबाट १ सय ११ मध्ये १६ जना(१४.४१ प्रतिशत), देवकी माविबाट १ सय ७ मध्ये ५ जना (४.६७ प्रतिशत), सूर्य माविबाट ४८ मध्ये ६ जना (१२.५ प्रतिशत) उत्तीर्ण भएका छन् l बागमती माविबाट ६३ र बाघ भैरव माविबाट १० जना  सहभागी परीक्षार्थी मध्ये कुनै पनि उत्तीर्ण भएन् l त्यसै गरी आगामी साउन १८ र १९ गते सञ्चालन हुने ग्रेडवृद्धि परीक्षामा जनता माविका २५, देवकी माविका १९, सूर्य माविका ७, बागमती माविका ७ र बाघ भैरव माविका ४ जना विद्यार्थी सहभागी हुन पाउने भएकाछन् l
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुर जिल्लाका २ हजार ९८ जना विद्यार्थी कक्षा ११ भर्ना हुन योग्य भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको नतीजा अनुसार मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५ हजार ७ सय ५२ परीक्षार्थीमध्ये २ हजार ९८ जना (३६.४७ प्रतिशत) ११ कक्षा भर्ना हुन योग्य भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । मकवानपुर जिल्लाको नतीजा राष्ट्रिय नतीजा भन्दा पनि कमजोर नतीजा देखिएको छ । राष्ट्रिय नतीजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् । मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ३ हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना नपाउने (नन ग्रेडेड– एनजी) भएका छन् । मकवानपुर जिल्लाबाट जीपीए ३.६ देखि ४ सम्म हासिल गर्ने २ सय ५८ जना, जीपीए ३.२ देखि ३.६ हासिल गर्ने ५ सय ९२ जना, जीपीए २.८ देखि ३.२ हासिल गर्ने ७ सय ६५ जना, जीपीए २.४ देखि २.८ हासिल गर्ने ४ सय ५१ जना, जीपीए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतमले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *