बागमती । मकवानपुरको बागमती गाँउपालिकाले बाह्रौ गाँउ सभाबाट आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याईएको छ । “आर्थिक समृृद्धिको आधार, कृषि, पशु उत्पादन तथा स्वरोजगार” भन्ने मुल नाराका साथ आज गाँउपालिकाको सभा हलबाट पालिका अध्यक्ष सर्केश घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष ०८१/८२ को लागि नीति तथा कार्यक्रममा पालिकालाई पृथक र पहिचानमुलक स्थानीय तहको रुपमा परिचित गराउन, स्थानीय जनता तथा कृषकलाई आत्मनिर्भर बनाउन, बिउँ पूँजी मार्फत गाई भैँसी वितरण गरी दैनिक २० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । बाँझो जमिनलाई उत्पादनमुखी बनाइ फलफुल खेती, तरकारी खेती, कृषि उत्पादन गर्न प्रोत्साहन र पहल गरिने छ । “जसको उत्पादन, उसैको अनुदान” भन्ने नाराका साथ कृषकलाई उत्पादनमा आधारित अनुदान प्रदान गरिने । “हाम्रो गौरब, हाम्रै उत्पादन” भन्ने नारालाई जिवन्त तुल्याउन पालिका बाहिर उत्पादित बस्तुलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रवर्धन गरिने नीति उल्लेख गरिएको छ ।
त्यस्तै पूर्वाधार विकास तर्फ झुरझुरे राईगाँउ क्यान्टिन सडक निर्माण प्रक्रियालाई निरन्तरता सँगै कालो पत्रे गर्ने कार्यमा विषेश जोड दिने, पालिका क्षेत्र भित्र बन्ने घरहरुमा नक्सा पास गरेर मात्र घर बनाउन स्वीकृति दिने विषय समेटिएको छ ।
सामाजिक विकास तर्फ “हाम्रो सरोकार, सामुदायिक विद्यालय शिक्षामा सुधार”को नारा सहित पालिका भित्र गुणस्तर प्राविधिक, व्यवसायिक शिक्षामा जोड दिईने, सहिदका छोराछोरीलाई स्नातक तह सम्म अध्ययन गर्न छात्रावृत्ति दिईने, विपन्न तथा विकट क्षेत्रमा बसोबास गरिने बिरामी उपचारमा लान लैजान निःशुल्क एम्वुलेन्स सेवालाई थप प्रभावकारी रुपमा सञ्चालन गरिने, गरिब घर परिवार पहिचान गरी उपयुक्त कार्यक्रम सञ्चालन गरिने नीति समावेस गरिएको छ ।
गाउँ सभा सञ्चालन पूर्व पालिकाको मूल प्रवेशद्धारमा उपाध्यक्ष सहित वडा नं. ६, ७, ८ र ९ का वडा अध्यक्ष सहित केही सदस्यहरुले कालो पट्टी र व्यानर सहित नारा बाजी गरिएका थिए । पालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, ६ नं. वडा अध्यक्ष टेक बहादुर डिम्डुङ, ७ नं. वडा अध्यक्ष उत्तर बहादुर भोलन, ८ नं. वडा अध्यक्ष इन्द्रमणि तिमल्सिना, ९ नं. वडा अध्यक्ष पुनराम घलान, कार्यपालिका सदस्य डम्वर बहादुर वि.क. लगायतकाले वडाले आफ्नो अनुकुलतामा बाँडफाँड गर्न पाउने पूँजीगत (सिलिङ) बजेट कट्टा गरिएको भन्दै संयुक्त रुपमा विरोध स्वरुप असार ९ गते प्रेस विज्ञप्ति जारी गरिएका थिए ।
विज्ञप्तिमा उपाध्यक्ष सहित वडाध्यक्षलाई आ.व. २०८१/०८२ को वजेटमा सिलिङ बजेटको व्यवस्थ गर्नुपर्ने । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएको उपाध्यक्ष र वडा अध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने लगायतका चार बुँदे माग विज्ञप्तिमा उल्लेख थियो ।
यता आ.व. २०८१/०८२ को गाउँपालिकाको नीति तथा कार्यक्रम नीतिगत रुपमा आएको पालिका अध्यक्ष सर्केश घलानले बताउनु भयो । सार्वजनिक गरेको नीति तथा कार्यक्रम एवम् आगामी वर्षको अनुमानित बजेट सन्दर्भमा उपाध्यक्ष लगायत केही वडा अध्यक्षहरुले गरेको विरोधको कुनै अर्थ नभएको अध्यक्ष घलानको भनाइ छ । प्रचलित ऐन नियम अनुसार वडालाई बजेट सिलिङ दिन नमिल्ने, तर ऐन नियममा व्यवस्था नै नभएको बजेटको सिलिङ उपाध्यक्ष र वडा अध्यक्षहरुलाई तोक्नु पर्ने साथै सम्झौता गरेर मात्रै सभा सञ्चालन गर्नु पर्ने निरन्तर अडान र हठका कारण कुनै विरोधका आधार बिनानै विरोधका भाष्य उब्जाई आम जनमासमा बहुमतको आडमा एकलौटी बजेट ल्याएको भनी भ्रम सृजना गरेको उल्टो अध्यक्ष घलानको आरोप छ । बजेट निर्माण र गाउँ सभा आयोजनाका सन्दर्भमा वहाँहरु सहित निरन्तर कार्यपालिका बैठक बसेको तर कार्यपालिकामा समग्र बजेटको खाका निर्माण सम्बन्धी एजेण्डा उपर खासै महत्व नदिएको र बजेट निर्माण सन्दर्भमा आयोजित कार्यपालिकाको गत तीन बैठकमा उपस्थित रहे पनि बैठक पुस्तिकामा उपस्थितिमा हस्ताक्षर नगरेको अध्यक्ष घलानले जानकारी गराउनु भयो ।
आज पनि सभामा उपस्थित भइ सभा मै विरोध गर्ने वहाँहरुको अधिकार रहे पनि नीति तथा कार्यक्रम एवम् अनुमानित बजेट प्रस्तुत पूर्व प्रेस विज्ञप्ति जारी गर्ने, विभिन्न माध्यमबाट भ्रामक प्रचार गर्ने कार्य जनप्रतिनिधिको गैरजिम्मेवारीपूर्ण कार्य गरेको वहाँको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को ख (३) अनुसार आफ्ना वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेस गर्नु पर्ने व्यवस्था भए अनुसार योजना तथा कार्यक्रम पेस गर्न पटक पटक अनुरोध गर्दा समेत व्यवस्ता गरेको अध्यक्ष घलानले बताउनु भयो । वडाहरुलाई बजेटको सिलिङ तोकिने व्यवस्था छ भने ऐनको कुन दफामा छ ? कति बजेट छुट्याउनु पर्ने व्यवस्था छ ? सो बारे जानकारी गराउन वडा अध्यक्षहरुलाई सुझाउनु भयो ।
त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७ अनुसार गाउँपालिका उपाध्यक्षको संयोजकत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिले दफा ६६ बमोजिमको समितिले दिएको बजेट सीमाभित्र रही बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने र बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषयगत रुपमा छलफल गर्ने व्यवस्था मिलाई अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेस गर्नु पर्ने ऐनमा व्यवस्था रहेकोमा आफ्नो जिम्मेवारीलाई व्यवस्ता गर्दै अनावश्यक लहडमा लाग्नु, गैरजिम्मेवारी हुनुले उपाध्यक्ष पदको गरिमा आफैले घटाएकोमा अध्यक्ष घलानले चिन्ता व्यक्त गर्नुभयो । ऐनको दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र व्यय(बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असारको दश गतेभित्र अनिवार्य सभामा बजेट पेस पर्ने व्यवस्था भए अनुसार बाध्य भएर आज सभामा आफैले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु परेको दुःखेसो अध्यक्ष घलानको छ । ऐनको दफा ६६ अनुसारको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले गरेको आन्तरिक आय, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, अनुदान, ऋण र आगामी आयको प्रक्षेपण र सो को सन्तुलित विवरणको खाका तथा बजेट सीमा निर्धारण बमोजिम गत कार्यपालिका बैठकमा पेस भएको आगामी वर्षको अनुमानित बजेट करिब ७१ करोड बराबरको बजेट ल्याइने जानकारी अध्यक्ष घलानले दिनुभयो ।
त्यस्तै शुभकामना मन्तव्यको क्रममा सामाजिक विकास संयोजक एवम् वडा नं. ३ का वडा अध्यक्ष कमान सिं पाख्रिनले भन्नुभयो – “आर्थिक वर्ष २०८०/०८१ मा खानेपानी र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु समावेश नभएकोले यस आगामी आर्थिक वर्षमा समावेश होस् भन्ने सुझाव दिन चाहन्छु । साथै आजको नीति तथा कार्यक्रम सम्बन्धमा केही रमाइला पनहरु पनि देखे तर ति रमाईला पनमा हामी अल्झिने छैनौं , हामी सबै जना मिलेर गाउँसभालाई भव्य र सभ्य ढङ्गले सम्पन्न गर्दैछौं र भावी दिनमा पनि फेरी यसको नतिजामा सफल हुने विश्वास व्यक्त गर्न चाहन्छु ।”
बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा आज सम्पन्न गाउँसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत झम्कनारायणले गर्नुभएको थियो भने वडा नं. ५ का वडा अध्यक्ष विजय भोलनले स्वागत मन्तव्य राख्नुभएको थियो । सभामा ३२ जना गाउँसभाका सदस्यहरुको उपस्थिति रहेको प्रमुख प्रशासकीय अधिकृत घलानले जानकरी दिनुभयो ।