व्यवस्थापन समितिको निर्वाचनमा माओवादी प्यानल विजयी

मकवानपुर (बागमती) विद्यालय व्यवस्थापन समिति सदस्य छनोटको लागि भएको निर्वाचनमा माओवादी प्यानलका उम्मेदवारहरु विजयी भएका छन्। बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँ  स्थित सूर्य माध्यमिक  विद्यालयको व्यवस्थापन समितिका चार सदस्य चयनका लागि शुक्रबार चुनाव सम्पन्न भयो।

 

 

 

 

 

दलीय  समूह खडा गरी गरिएको चुनावमा एमाले र कांग्रेसको संयुक्त गठबन्धनलाई पराजित गर्दै माओवादी केन्द्रकाे प्यानलबाट चार सदस्य  विजयी भए । माओवादी प्यानलवाट दिल कुमारी घिसिङले निर्वाचन चिन्ह कुर्सीमा १ सय ४५ मत, सरिता राईले निर्वाचन चिन्ह चस्मामा १ सय ४४ मत जय बहादुर पाख्रिनले निर्वाचन चिन्ह घरमा १ सय ४५ मत र पूर्ण बहादुर गोलेले निर्वाचन चिन्ह रेडियोमा १ सय ४५ मत प्राप्त गरी विजयी भए ।

 

 

 

 

 

त्यस्तै, कांग्रेस र एमाले प्यानलबाट उम्मेवारी दिए‌का सजना बाेम्जन, मिना राई, यज्ञबहादुर श्रेष्ठ र दिल बहादुर बोम्जन पराजित भए । बाेम्जनकाे निर्वाचन चिन्ह किताब, राईको निर्वाचन चिन्ह भित्ते घडी, श्रेष्ठको निर्वाचन चिन्ह पंखा र बोम्जनको निर्वाचन चिन्ह गमलामा क्रमशः १ सय ३०, १ सय २९, १ सय २८ र १ सय २९ मत प्राप्त गरेका थिए।

 

 

 

 

 

आफ्ना बालबालिकाको पढाई कस्तो छ भन्ने बुझ्न एक दिन पनि विद्यालय नपुग्ने र विद्यालयको संघार नटेक्ने अविभावकको आज बाक्लै भीड सूर्य माविमा लागेको थियो। कक्षा १० सम्म संचालनमा रहेको सो विद्यालयकाे भर्ना अभिलेख अनुसार भर्ना भएका  ४ सय ७८ बालबालिकाका २ सय ९३ जना अभिभावकहरु मध्ये महिला १ सय ५४ जना र पुरुष १ सय २४ जना गरी जम्मा २ सय ७८ जना अभिभावकले निर्वाचनमा मतदान गरेका थिए। जसमध्ये २ सय ७६ मत सदर र २ मत पूर्णरुपमा बदर भएको थियो। निर्वाचनमा मतदानको कार्य शुक्रबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । अपरान्ह २:३० बजेदेखि सुरु भएको मतगणना कार्य ४:१० बजे सपन्न भएको नियो।

 

 

 

 

 

शिक्षा ऐन, २०२८ को दफा १२ को “क” र बागमती गाउँपालिकाको स्थानीय शिक्षा ऐन, २०७४ को दफा १६ को उपदफा १ (क) मा व्यवस्या भएबमोजिम अभिभावकले आफूहरु मध्ये छनोट गरी पठाएको कम्तिमा दुई महिला सहित चार सदस्य हुने व्यवस्था छ। सोही चार सदस्य छनोटका लागि पटक-पटक गरिएको छलफलले सहमतिमा व्यवस्थापन  समितिका सदस्य चयन गर्ने प्रयास असफल भएपछि उनीहरू लोकतान्त्रिक विधिबाट समिति सदस्य चयन गर्ने निर्णयमा पुगेका हुन् । व्यवस्थान समितिको नेतृत्व हात पार्न लडेका उनीहरुको चुनावी प्रचार-प्रसार र घरदैलोले स्थानीय तहकै चुनावको रौनक भन्दा कम थिएन। निर्वाचनको समयमा बागमती गाउँपालिकाका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले आफ्नो शक्ति परिक्षण र प्रदर्शन गरी  विद्यालयमा आफ्नो प्रभाव जमाउन भरपूर प्रयत्न गरेका थिए। राजनीतिक दलहरूमा जुनसुकै निकायमा पनि आफ्नो प्रभाव हुनुपर्ने गलत प्रवृत्ति बढेको छ। सबै निकायलाई आफ्नो बसमा राख्नुपर्छ, आफ्नो प्रभाव जमाउनु पर्छ भन्ने प्रवृत्तिले व्यवस्थापन समितिलाई पनि राजिनितिले गाँजेको छ। बागमतीगाउँपालिकामा यस वर्ष बागमती मावि, चौरा आवि र सूर्य मावि गरी तीन विद्यालयको व्यवस्थापन समिति सदस्य छनोटका लागि निर्वाचन भएको छ ।

 

 

 

 

 

विद्यालय व्यवस्थापन समिति गठन गर्न अविभावकको मतदानले कम्तिमा दुई महिलासहित चार सदस्य निर्वाचित गर्नुपर्ने र दुई सदस्य, शिक्षक स्टाफहरु मध्येबाट एक शिक्षक सदस्य, सम्बन्धित वडाका वडा अध्यक्ष वा निजले तोकेको एक पद्देन सदस्य र विद्यालयको प्रधानाध्यापक गरी ९ जना सदस्यसहितको समिति रहने व्यवस्या छ। पालिकाकाे  ऐन अनुसार बहालवाला जनप्रतिनिधि तथा शिक्षक अध्यक्ष हुन नसक्ने व्यवस्था  छ। आभिभावकबाट निर्वाचित चार र मनोनित दुई सदस्यबाट  व्यवस्थापन  समितिको अध्यक्ष बन्ने ऐनमा व्यवस्था छ भने प्रधानाध्यापक सदस्य सचिव रहने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *