राधेश्याम विजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने

फागुन २२, हेटौंडा /राधेश्याम विजया फाउण्डेशनले साहित्य सम्मान र शैक्षिक पुरस्कार प्रदान गर्ने भएको छ । फाउण्डेशनले आगामी फागुन २८ गते सोमबार हेटौंडामा एक कार्यक्रम गरी साहित्य सम्मान र पुरस्कार प्रदान गरिने  भएको हो ।

फाउण्डेशनले एघार हजार एकसय एघार रुपैयाँ पुरस्कार राशि रहेको राधेश्याम स्मृति साहित्य सम्मान- २०८० बाट मकवानपुरे कवि पुरुषोत्तम आचार्यलाई सम्मान गर्ने जनाएको छ ।

यसैगरी फाउण्डेशनले दस हजार पाँच रुपैयाँ राशी रहेको विजयादेवी शैक्षिक पुरस्कार- २०८० बाट हेटौंडा १८  हर्नामाडिमा रहेको ज्योति उच्च मा वि बाट एस.ई.ई. मा उत्कृष्ट स्थान हासिल गर्ने छात्रा पवित्रा तिमल्सिनालाई पुरस्कृत गरिने फाउण्डेशनका अध्यक्ष अरुण कुमार खतिवडाले जानकारी दिनुभयो ।

फाउण्डेशनले हरेक बर्ष बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिंदै आईरहेको छ ।  २०७८ सालमा फुटबल खेलाडीलाई जर्सी वितरण गरेको फाउण्डेशनले २०७९ सालमा ज्योति मा वि बाट एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई १०/ १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको र यसबर्ष पनि साहित्य र शैक्षिक क्षेत्रका ब्यक्तित्वलाई सम्मान गरिन लागिएको अध्यक्ष खतिवडाले बताउनुभयो।

राधेश्याम खतिवडाको संक्षिप्त परिचय
वि.सं. १९९३ सालमा मकवानपुरको मकवानपुरगढीमा जन्मनु भएका खतिवडा जिल्लाको वामपन्थी राजनीतिमा सक्रिय रहनुभएको थियो । उक्त सक्रियताकै कारण उहाँ दश बर्षसम्म  तत्कालीन हटिया गाउँ पञ्चायतको प्रधानपञ्च हुनुभयो ।

उहाँले जिल्लाको सामाजिक , शैक्षिक तथा राजनीतिक क्षेत्रमा  योगदान पुर्‍याउनुभएको थियो । सोही योगदानको कदर स्वरूप छोराहरु अरुण खतिवडा र बरुण खतिवडाले स्वर्गीय पिता राधेश्याम खतिवडा र आमा विजयादेवीको नामबाट वि.सं. २०७६ सालमा दश लाख रुपैयाँको अक्षय कोष खडा गरि फाउण्डेशको स्थापना गर्नुभएको हो ।

वि.सं. २०६० साल श्रावण १० गते निधन हुनु भएका खतिवडाको ८७ वर्षिय पत्नी विजयादेवी, दुई छोरा र चार छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *