नेपाल निर्माण व्यवसायी महासंघ साधारण सभाका बारेमा मुख्यमन्त्री र मन्त्रीसँग छलफल

 

हेटौँडा/ नेपाल निर्माण व्यवसायी महासंघको आगामी चैतमा हुने २५ औँ साधारण सभाको बारेमा निर्माण व्यवसायी संघ मकवानपुरले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग भेटघाट तथा छलफल गरेको छ ।
साधारण सभाको तयारीको बारेमा मुख्यमन्त्री जम्कट्टेलसँग बिहीबार उहाँको निवासमा छलफल गर्दै साधारण सभाको सफलताका लागि सहयोगका लागि छलफल गरेको हो ।
निर्माण व्यवसायी संघ मकवानपुरको सह–आयोजकत्वमा आगामी चैत्र १६ र १७ गते हुने साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयभएको छलफलमा जानकारी गराइएको थियो ।
छलफलमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, पूर्व अध्यक्ष आनन्दराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
यस्तै निर्माण व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलहरुका प्रतिनिधिहरुसँग साधारण सभाको बारेमा छलफल गरी सहयोगका लागि आग्रह गरेको छ । साधारणसभा प्रतिनिधि र पर्यवेक्षक गरी करिब दुई हजार जनाको सहभागिता रहने जनाइएको छ ।
साधारणसभामा प्रत्येक प्रदेश महासंघहरूबाट अध्यक्षसहित १५ जना, ५० सम्म सदस्य भएको जिल्ला संघले तीन जना र सोभन्दा माथि हरेक ५० सदस्य बराबर थप एक जना साधारण सभा प्रतिनिधि तोकी एक जनालाई अनिवार्य मुख्य प्रतिनिधि हुने गरी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी पाँच वा सोभन्दा बढी साधारण सभा प्रतिनिधि पठाउने जिल्ला संघले प्रतिनिधि हुन योग्यता पुगेका महिलाहरूमध्ये कम्तीमा एक जना महिला प्रतिनिधि अनिवार्य रूपमा पठाउनुपर्ने, एशोसिएट सदस्यहरूबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजकसहित ३९ र प्रत्येक वस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि पठाउनुपर्ने जनाइएको छ ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.