काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मङ्गलबारबाट सुरू भएको विधान महाधिवेशनको समूहगत छलफलमा बहुमतले समूहहरूले पार्टीको नाम फेर्न नहुने प्रस्ताव गरेका छन् ।
हिजै २० वटा समूहहरू बनाएर पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौला समितिले तयार गरेको मस्यौदा छलफलका लागि दिइएको थियो ।
त्यही मस्यौदामाथि छलफल गर्दै बहुमत समितिहरूले पार्टीको नाम फेर्न नहुने प्रस्ताव गरेका हुन् । उनीहरूले ठूलै दलहरूसँग पार्टी एकता हुनेभए मात्रै फेर्ने प्रस्ताव गरेका छन् ।
एक नेताले भने, “ठूलै पार्टीहरूसँग पार्टी एकता हुनेभए मात्रै पार्टीको नाम फेर्ने, नभए नफर्ने भन्ने बहुमत समूहहरूको प्रस्ताव छ ।”
त्यसो त माओवादी केन्द्रले नाम परिवर्तन गरेर डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका दलहरूसँग चाँडै पार्टी एकता गर्नेगरी छलफल अगाडि बढाएको छ । यहीबेला १३ सयजना महाधिवेशन प्रतिनिधिहरूमध्ये बहुमतले पार्टीको नाम नफेर्ने प्रस्ताव गरेका हुन् ।
यसबारे बुझ्दा ती नेता भन्छन्, “नेसपा, नेकपाहरू त साना पार्टीहरू भइहाले, उनीहरूसँग एकता गर्नकै लागिचाहिँ पार्टीको नाम नफेर्ने भन्ने कुरा बढी समूहहरूले उठाएका छन् ।”
यस्तै नेतृत्व चयनका सन्दर्भमा आन्तरिक निर्वाचन हुनुपर्ने मागसमेत समूहगतरूपमा उठेका छन् । सांसदसमेत रहेकी केन्द्रीय सदस्य दुर्गा राईले भनिन्, “अध्यक्षसमेत निर्वाचित नै भएर आउनुपर्ने कुराहरू उठेका छन् ।”
यसअघि बसेको केन्द्रीय पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पनि यही कुरा उठाएका थिए । महाधिवेशनले उनको प्रस्तावलाई फरक प्रस्तावका रूपमा दर्ज गरेको छ ।
कुनै समूहहरूले पदाधिकारी नराख्ने प्रस्ताव गरेका छन् । केन्द्रीय अध्यक्षपछि सबै सदस्य हुनेगरी अगाडि बढ्नुपर्ने उनीहरूले बताएका छन् । “छलफल भोलिसम्म टुङ्गिन्छ । अध्यक्षबाहेक अरु सबै सदस्यहुनुपर्ने प्रस्ताव पनि आएका छन्,” सचिव दीनानाथ शर्माले भने ।