सकियो; माओवादीको ४ महिने अभियान, जनतासम्म पुग्यो कि पुगेन ?

 

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले चलाएको ४ महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सकिएको छ ।  माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि ३ महिने अभियान सुरू गरेको थियो । तर, अभियानप्रति जनताको साथ/समर्थन रहेको निष्कर्ष निकाल्दै पुन: थप एक महिना लम्ब्याइएको थियो ।

साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले सबै तहमा पार्टी कमिटीको बैठक र प्रशिक्षण आयोजना गर्ने, कमिटी नभएका वडामा कमिटी गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्नयोग्य बनाउने उद्देश्यसहित अभियान सुरू गरेको थियो ।

 

जसको समापन आज हुँदैछ । पार्टीका सबै तहका कमिटीहरूको बैठक राखेर समीक्षा गरेर समापन गरिने नेताहरूले बताएका छन् ।

नेताहरूले अभियान सफल भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् । माओवादी महासचिव देवप्रसाद गुरुङ भन्छन्— प्रारम्भिकरूपमा हाम्रो अभियान सफल भएको निष्कर्ष निकालेका छौँ । बाँकी रिपोर्टमार्फत ल्याउँछौँ ।

तर, अझै अपेक्षित परिणाम भने नआउने हो कि भन्ने आशङ्का महासचिव गुरुङसँग कायमै छ । सबै नेता तथा कार्यकर्ताहरू आ-आफ्नो स्थानबाट डटेको उल्लेख गर्दै उनले भने— तर, त्यसले कस्तो परिणाम दिन्छ, त्योचाहिँ प्रमुख कुरा हो । नेता साथीहरू जनतासम्म पुग्नुपर्ने त हाम्रो निर्देशन नै थियो ।

माओवादीले हरेक वडामा कम्तीमा एकजना केन्द्रीय नेता पुग्नुपर्ने निर्देशन दिएको थियो । तर, नेताहरू कार्यकर्तासम्म मात्रै पुगेको भनेर कतिपय नेताहरू नै भनिरहेका छन् । यसबारे बुझ्दा माओवादी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन्— यो प्रतिवेदनमार्फत आउँछ ।

तर, अपेक्षितरूपमा नेताहरू जनतामा नपुगेको कुरा स्वीकार्छन् उनी । “जनतासम्मै पुग्नुभयो नेताहरू । तर, उहाँहरूको प्राथमिकतामा चाहिँ जनताभन्दा बढी कार्यकर्ताहरू नै भए कि भन्ने तपाईंको आशङ्का साँचो पनि हुनसक्ला । नेताहरू कार्यकर्तापट्टी फर्किने काम सुरू भएपनि कार्यकर्ता जनतापट्टी भने पूरै फर्किनसकेका हुन् कि भन्ने हो,” उनी भन्छन् ।

सचिव लीलामणि पोखरेल भने यो अभियानपछि माओवादी अब अझ सशक्त भएको दाबी गर्छन् । अभियानमा मधेसमा खटिएका उनी भन्छन्, “पार्टी बन्छ । अब सशक्त बन्छ । यो अभियानमा यसमा राम्रो काम गर्छ ।”

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पहिलो शक्ति बनेको माओवादी त्यसयता क्रमश: कमजोर बन्दै आएको छ । यसपछि जनतासँगको सम्बन्ध कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै जनतामा गएको माओवादीको यो अभियान सतही भएको निष्कर्ष कतिपयको छ ।

सचिव राम कार्की पनि त्यसमा सहमत छन् । वाम पार्टीहरूमा वाम प्रवृत्ति नभएको उनको भनाइ छ । यो अझ बढी माओवादीमा भएको उनको भनाइ छ । “हामी जनताबाट अलग्गिँदै गएका छौँ । त्यसैले यसलाई वामपन्थी कार्यक्रममा नढालेसम्म नेपाली राजनीतिको भविष्य त्यति उज्यालो देखिँदैन,” उनी भन्छन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.