बागमती गाउँपालिका द्वारा ३ सय ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

मकवानपुरको पूर्वी बागमती गाउँपालिकाले पालिका अन्तरगतका सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ l

पालिका अन्तरगतका सामुदायिक विद्यालयका ३ सय ३० जना विद्यार्थीलाई हिजो सोमबार सामाग्री वितरण गरेको हो l वडा नं ४ झुरझुरे स्थित महाबुद्ध आधारभूत विद्यालयको प्राङ्गणमा सामाग्री वितरण गरेको थियो l विद्यार्थीहरुलाई विद्यालय पोसाक, झोला र स्टेशनरी सामाग्री वितरण गरिएको सामाजिक विकास संयोजक कमान सिं पाख्रिनले जानकारी दिनु भयो l

 

शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र बागमती गाउँपालिका बीच गत आर्थिक वर्ष २०७९/०८० मा अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यन्वयन सम्बन्धमा भएको सम्झौता अनुरुप विद्यालय बाहिर रहेको बालबालिकालाई पहिचान गरी विद्यालयमा भर्ना गरी ती बालबालिकाहरुलाई नियमित पठनपाठनका लागि आवश्यक पर्ने ५ हजार २ सय बराबरको स्टेशनरी सामाग्री, विद्यालय पोशाक र झोला वितरण गरेको पालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनु भयो l त्यसै गरी कार्यक्रम अनुरुप वडा कार्यालय र विद्यालयबाट सिफारिस गरिएका विशेष आवश्यक सहयोग गर्नु पर्ने बालबालिकाहरुलाई ५ हजार २ सय ५० रुपैयाँ बराबरको स्टेशनरी सामाग्री, पोशाक र झोला वितरण गरेको अध्यक्ष घलानले बताउनु भयो l

 

 

 

 

 

बागमती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा द्वारा आयोजित सो कार्यक्रममा सामाजिक विकास समिति संयोजक कमान सिं पाख्रिनको सभाध्यक्षमा तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य रहेको थियो l कार्यक्रमा वडा नं ५ का अध्यक्ष विजय भोलन, शिक्षक महासंघका अध्यक्ष वसन्त राई, रेडियो झुरझुरेका स्टेशन म्यानेजर कृष्ण उदास खनाल, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिबाहक तथा विद्यार्थी लगायतकाको  बाक्लो उपस्थी रहेको थियो l

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ भनी उल्लेख छ । सोही मौलिक हकको कार्यन्वयनका लागि अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ र अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७ जारी भइ कार्यान्वयनको चरणमा रहेको छ l

 

 

 

 

 

प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सम्पूर्ण नागरिकले आधारभूत शिक्षा अनिवार्य रूपमा प्राप्त गर्ने वातावरण सिर्जना गर्ने प्रयोजनका लागि सम्वत् २०८५ साल वैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै पनि सरकारी सेवामा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व, अनुदान वा नियन्त्रणमा रहेको कुनै संस्थाको सेवामा प्रवेश गर्न वा कुनै पनि सरकारी, गैरसरकारी वा निजी क्षेत्रमा स्थापित कुनै पनि संस्थामा कुनै पनि पदमा निर्वाचित, नियुक्ति वा मनोनयन हुन वा कुनै रोजगारी प्राप्त गर्न, कुनै पनि कम्पनी, फर्म, सहकारी संस्था वा गैरसरकारी संस्थाको संस्थापन गर्न वा त्यस्तो कम्पनी फर्म वा संस्थाको संस्थापक सेयरधनी, सञ्चालक वा सदस्य वा कुनै पदाधिकारी हुन अयोग्य हुने ऐनको दफा १९ मा उल्लेख छ ।

 

 

 

 

 

 

 

तर व्यवस्था प्रारम्भ हुनु अघि नै बाह्र वर्ष उमेर पूरा भइसकेको वा कुनै पदमा बहाल भइसकेको, निर्वाचित, मनोनयन वा नियुक्त भई सकेको वा कार्यरत रहेको वा प्राप्त गरिसकेको वा भोगिसकेको सुविधाको हकमा साथै कमजोर स्वास्थ्य वा बहुअपाङ्गता वा यस्तै अन्य कुनै जटिल कारणले शिक्षा लिन नसकेका व्यक्तिको हकमा यो उपदफा लागू नहुने ऐनमा उल्लेख छ ।

विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना नगराउने वा भर्ना भएपछि पनि आधारभूत तहसम्मको शिक्षा पूरा नगरी बालबालिकालाई विद्यालयबाट छुटाउने अभिभावकलाई स्थानीय तहबाट प्रदान गरिने सुविधा प्राप्त गर्न बञ्चित गर्न सकिनेछ भनि ऐनको दफ ७ को उपदफा ५ मा व्यवस्था छ । आगामी दिनमा त्यस्ता अभिभावकहरुलाई पालिकाले दिने सेवा सुविधाबाट बन्चित गराउन सक्नेछ ।

 

 

 

 

 

गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले प्रदेश अन्तर्गतका ११९ स्थानीय तहहरु मध्ये मकवानपुरको बागमती गाउँपालिका र कैलाश गाउँपालिका, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, धादिङको धुनिवेसी नगरपालिका र गल्छी गाउँपालिका, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका, रसुवाको गोसाइँकुण्ड गाउँपालिका, सिन्धुलीको दुधौली नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिका गरी जम्मा ११ वटा स्थानीय तहहरुसंग सम्झौता गरी अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यक्रम लागू गरेको थियो । बागमती गाउँपालिकाले सम्झौता बमोजिम सबै कार्यक्रमहरु पूरा गरी गत असार ६ गते नै अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गरिसकेको छ l

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाले विद्यालयले सर्वेक्षण गर्दा विद्यालय जाने उमेर समूहका २८५ जना बालबालिका विद्यालयबाहिर रहेका घोषणा कार्यक्रममा जानकारी गराइएको थियो।

बागमती गाउँपालिकाभित्र ५० वटा सामुदायिक विद्यालयमा हाल ७ हजार ७ सय ९२ जना  विद्यार्थी अध्ययनरत रहेको पालिकाको तथ्यांकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *