मकवानपुरको बागमती गाउँपालिका वडा नं. १ को कार्यालयले स्काउटका विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण गरिएको छ l वडा स्थित सूर्य माध्यमिक विद्यालयका सूर्य स्काउट ट्रुपका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो l
विद्यालयमा संचालित स्काउट ट्रुपका विद्यार्थी तथा शिक्षकहरुलाई हौसला प्रदान गर्न प्रोत्साहन स्वरूप पोशाक वितरण गरिएको वडा अध्यक्ष यहुन्ना राईले जानकारी दिनु भयो l बागमती गाउँपालिकाको आ.व. २०८०/८१ को शिक्षा तर्फको वार्षिक स्वीकृत बजेट अन्तर्गत शिक्षाका विविध कार्यक्रम शीर्षक बजेटबाट पोशाक खरिद गरी वितरण गरेको वडा अध्यक्ष राईले बताउनु भयो l
आज सूर्य माध्यमिक विद्यालयको प्रांगणमा औपचारिक कार्यक्रम गर्दै वडा कार्यालयले पोशाक वितरण गरेको हो l सूर्य स्काउट ट्रुपका ५५ जना विद्यार्थीहरुलाई एक/एक सेट पोशाक वितरण गरेको थियो l
बालबालिकाहरुमा सानै उमेरबाट सामाजिक भावनाको विकास गरी असल, अनुशासित, नैतिकवान एवम् जिम्मेवार नागरिक तयार गर्न उक्त कार्यक्रमले सयोग पुर्याउने सूर्य स्काउट ट्रुपका स्काउट शिक्षक एवम् स्काउट सदस्य वृद्धि संयोजक राजकुमार राईले बताउनु भयो l कलिला बालबालिकाहरुलाई विभिन्न खालका जीवन उपयोगी सीप सिकाउँदै भावी समयमा आइपर्ने विपदमा आफू सुरक्षित हुँदै अरुलाई समेत सहयोग गर्न सक्ने स्वयम् सेवकहरु उत्पादनमा यस्ता खालका कार्यक्रमले सहयोग पुर्याउने स्काउट शिक्षक राईले बताउनु भयो l साथै वडा कार्यालयबाट वितरण गरेको स्काउट पोशाकका कारण ट्रुपका विद्यार्थीहरुमा स्काउट प्रति थप प्रेरित हुनेमा शिक्षक राईको विश्वास छ l
विद्यालयका प्रधानाध्यापक दिल बहादुर भोलनको सभाध्यक्ष तथा वडा अध्यक्ष यहुन्ना राईको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमा गाउँपालिका शिक्षा शाखाका प्रमोदकुमार राई, वडा सदस्य हस्तबहादुर थिङ, विव्यस अध्यक्ष डोरबहादुर थापा, सदस्य यज्ञबहादुर श्रेष्ठ, शिअसं अध्यक्ष अनिल राई, विद्यालयका पूर्व प्रधानाध्यापकहरु वीरबहादुर राई, सूर्य बहादुर राई, रत्नबहादुर राई, इ.डी.व. कार्यालयका प्रमुख नरेश महतो, पूर्व शिक्षक भुवन प्रसाद राई लागायतकाको आतिथ्यता रहेको थियो भने विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो l कार्यक्रमको सहजीकरण स्काउट शिक्षक एवम् स्काउट सदस्य वृद्धि संयोजक राजकुमार राईले गरेका थिए l
कार्यक्रममा वडा अध्यक्ष यहुन्ना राई, गाउँपालिका शिक्षा शाखाका प्रमोदकुमार राई, पूर्व प्रधानाध्यापक वीर बहादुर राई र सूर्य बहादुर राई लगायतकाले मन्तव्य राखेका थिए l बागमती गाउँपालिकामा रहेका ५० सामुदायिक विद्यालयहरु मध्ये स्काउट सम्बन्धी नियमित गतिविधि संचालन गर्ने एक मात्र विद्यालयको रुपमा सूर्य माध्यमिक विद्यालय परिचित छ l