आँखा शिविरमा २ सय १ काे सल्यक्रिया, २ हजार ३९ काे परिक्षण ।

मकवानपुरको पूर्वी बागमती गाउँपालिकामा संचालन भएको नि:शुल्क आँखा शिविरमा २ सय १ जना मोतियाबिन्दुको  सफल शल्यक्रिया भएको छ l शिविरमा माहिला एक सय ९ र पुरुष ९२जना मोतियाबिन्दु आँखा रोगीको नि:शुल्क शल्यक्रिया भएको छ l

बागमती र हरिहरपुरगढी पालिका अन्तर्गतका वडालाई सहजता हुने गरी ९ वटा केन्द्र निर्धारण गरी मङ्सिर १२ गतेदेखि १६ गते  संचालन गरिएको शिविरमा देखिएका मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको  बागमती गाउँपालिका स्वास्थ्य शाखा संयोजक दिनेश कुमार गुप्ताले  जानकारी गराउनु भयो । पालिकाको वडा नं. ४ स्थित महाबुद्ध आधारभूत विद्यालयमा  मङ्सिर १६ र १७ गतेसम्म दुई दिन शल्यक्रियाको लागि शिविर संचालन गरेको संयोजक गुप्ताले बताउनु भयो l

दुई दिनसम्म संचालन भएको शिविरमा पहिलो दिनमा ९३ र  दोस्रो दिनमा १०८  जनाको शल्य क्रिया भएको संयोजक गुप्ताले जानकारी दिए ।  शल्य क्रिया गर्नका लागि बिरामीहरुलाई शिविर सम्म आउन  नि:शुल्क बस सेवा तथा खाना र आवास समेतको व्यवस्था गरेको आयोजकले बताए l शिविरका दुई हजार  ३९  जनाको आँखा जाँच समेत भएको छ । मङ्सिर १२ गते वडा नं  ८  को आधारभूत स्वास्थ्य केन्द्र र हरिहरपुरगढी वडा नं २ को पिपलमाडी स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा दुई सय ९८  र  दुई सय ५४ जना, मङ्सिर १३ गते वडा नं ३ स्थित जनप्रभात आधारभूत विद्यालयको केन्द्र र वडा नं १ को माझगाउँ स्वास्थ्य केन्द्रमा एक सय २८ र तीन सय ४ जना, मङ्सिर १४ गते  वडा नं ६ को बेतिनी स्वास्थ्य चौकी केन्द्रमा र वडा नं ९ को बेतिनी स्वास्थ्य चौकी क्रमश: दुइ सय ९० र एक सय १५ जना , मङ्सिर १५ गते  हरिहरपुरगढी वडा नं. ७ को क्यानेश्वर स्वास्थ्य चौकी केन्द्र र वडा नं ४ को सामुदायिक आँखा केन्द्र झुरझुरेमा क्रमश: एक सय ४७ र दुई ८७ जना त्यसैगरी वडा नं ५ को गीता आधारभूत विद्यालयको केन्द्रमा दुई सय १६ जनाले आँखा परीक्षण गरेका थिए l

यसरी शिविर संचालन गरिएको नौं केन्द्रहरुमा गरिएको आँखा परीक्षणबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका ६३ जना र बागमती गाउँपालिकाका दुई सय ५ जना गरी दुइ सय ६८ मा  मोतियाबिन्दु देखा परेको थियो l ती मध्ये दुई सय ३७ जना शल्यक्रियाका लागि सम्पर्कमा आएका थिए भने ३१ जना भने सम्पर्कमा नआएको संयोजक गुप्ताले जानकारी दिनु भयो l सम्पर्कमा आएका मध्ये ३६ जनाको भने स्वास्थ्य समस्याका कारण शल्यक्रिया गर्न नमिल्ने भनी फर्काएको थियो l

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले शिविरको अवलोकन तथा अनुगमन गर्नुभएको थियो l बिरामीहरु संग प्रत्यक्ष भेटघाट गरी बिरामीको अवस्था तथा  समस्या बारे सोधपुछ गर्नु भएको थियो l अध्यक्ष घलानले शल्यक्रिया गरिएका बिरामीहरुको पट्टि  खोलेर प्रतिक्रिया समेत लिनुभएको थियो l  शल्यक्रिया पछि बिरामीको मुहारमा देखिएको खुशीले आफू पनि  निक्कै खुशी भएको अध्यक्ष घलानले बताउनु भयो l आगामी दिनमा पनि यसरी नै पालिकाले शिविर संचालन गरी सेवा प्रदान गर्ने अध्यक्ष घलानको प्रतिवद्धता गर्नु भयो l

शिविरमा आँखा जाँचका लागि अनुमान गरेको भन्दा धेरै आएको र मोतियाबिन्दु भएकाहरुको संख्या पनि उलेख्य भेटिएको स्वास्थ्य संयोजक गुप्ताले भन्नु भयो l हामीले शिविर संचालन पूर्व यतिका मानिसहरु आँखा जाँच गराउन आउछन् जस्तो लागेको थिएन र यति धेरैमा मोतियाबिन्दु रोगी छन् भन्ने अनुमान गरेका थिएनौं संयोजक गुप्ताले भन्नु भयो l यो शिविर संचालन गर्नु त्यति सजिलो थिएन, तर सफलता पूर्वक सम्पन्न भयो, सबै सहयोगीलाई धन्यवाद, वहाँले भन्नु भयो l हामीले शिविर बारे व्यापक प्रचारप्रसार गरेका थियौं l हामीले सोचेका भन्दा बढी बिरामीको उपस्थिति भयो र धेरैको  आँखा परीक्षण गर्न सफल भयौं l तर अझै पनि आँखा रोगीहरु शिविरमा आउन छुटेको वहाँको अनुमान छ l बिरामी आफै अस्पतालमा शल्यक्रिया गर्न जाँदा करिब ३० देखि ५० हजारसम्म खर्च व्यहोर्नु पर्ने थियो तर यो शिविरमा नि:शुल्क उपचार गर्दा वहाँहरुको खर्च बचेको संयोजक गुप्ताले बताउनु भयो l मङ्सिर १२ गते देखि १७ गतेसम्म संचालित शिविरमा करिब ५ देखि ६ लाखसम्म पालिकाको खर्च भएको अनुमान गरिएको छ l  शिविरमा सोचे भन्दा धेरैलाई सेवा दिन सफल भएको  खटिएका स्वास्थ्य टोली प्रमुखले बताउनु भयो l

बागमती गाउँपालिकाको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पताल, अन ड्रिम अन्धोपन परियोजना र सामुदायिक आँखा केन्द्र बागमतीको प्राविधिक सहयोगमा संचालन भएको शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पतालका फिल्ड कोडिनेटर शुशील सिंहको नेतृत्वमा  आएका अस्पताल प्रमुख डा. सुनिल थकाली , तिलगंगा आँखा अस्तपलाका सर्जन डा. अशोक वर्तौला, डा. शिला बिल लगायतका १६ जनाका स्वास्थ्य कर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए l

Leave a Reply

Your email address will not be published. Required fields are marked *