स्थानीय तहको फरक अभ्यास, सामुदायिक विद्यालय शिक्षा सुधारको प्रयास

मकवानपुर जिल्लाको बागमती गाउँपालिकाले विद्यालय शिक्षा सुधारका लागि नयाँ अभ्यास थालनी गरेको छ l सामुदायिक विद्यालय शिक्षा सुधारका लागि पालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले थालनी गरेका असल अभ्यास तथा सम्पादन गरेका कार्यहरुको वार्षिक समीक्षा एवम् अन्तरक्रिया गरेको छ l

 

पालिका स्तरको माध्यमिक तथा आधारभूत विद्यालयहरुको वर्तमान  शैक्षिक स्थिति र हालसम्म सम्पादन भए गरेका र सम्पन्न हुन बाँकी योजना तथा क्रियाकलापहरु बारे आवश्यक जानकारी प्राप्त गर्न, शैक्षिक सुधारका लागि विद्यालयहरुले गरिएका अभ्यास र प्रयासहरु, देखा परेका समस्या तथा चुनौती, समस्या समाधानका उपायहरुको जानकारी एवम् आगामी योजना निर्माण तथा कार्यन्वयनका लागि मार्गदर्शन गर्ने  साथै सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सहयोग पुग्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा स्रोतले  जनाएको छ l यो नयाँ अभ्यास र प्रयासले विद्यालयहरुमा देखा परेका समस्याको समाधानका लागि ठोस योजना निर्माण र कार्यान्वयमा सहयोग पुग्ने पालिकाले अपेक्षा गरेको छ l

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले विद्यालयको वार्षिक स्थिति प्रतिवेदन प्रस्तुत गरेका थिए l प्रतिवेदनमा विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा ऐतिहासिक पृष्ठभूमिको चर्चा गरिनुका साथै विद्यालयले गरेका असल अभ्यास, सम्पादन गरेका कार्यहरु, देखिएका समस्या तथा समाधानका उपाय तथा आगामी योजना बारे जानकारी गएका थिए l सहभागीहरुले प्रस्तुत गरेका प्रतिवेदन माथि व्यापक छलफल तथा अन्तरक्रिया गरी समस्या समाधानको उपायहरु खोजी भएको थियो l दुई दिवसीय समीक्षात्मक एवम् अन्तरक्रियात्मक कार्यक्रमको विज्ञ तथा अनुभवी प्रशिक्षक धर्म राज श्रेष्ठ, अशोक महर्जन, केशव दाहाल र सुजाता शक्यले सहजीकरण गर्नु भएको थियो l

बागमती गाउँपालिका शिक्षा शाखा द्वारा आयोजित उक्त कार्यक्रम सामाजिक विकास संयोजक कमान सिं पाख्रिनको अध्यक्षता भएको थियो l  कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना र समापन सत्रमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सर्केश घलान रहनु भएको थियो l  हिजो बिहिबार सुरु भएको समीक्षात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो l कार्यक्रम गाउँपालिकाको सभाहलमा भएको थियो l

कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, गाउँपालिका महासंघका अध्यक्ष वसन्त राई, शैक्षिक जागरण मंचका अध्यक्ष वीरबहादुर राई लागायतका अतितिथिहरुले कार्यक्रमका बारेमा आफ्ना धारणाहरु राखेका थिए l त्यस्तै कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका अन्तर्गतका ५० वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लागायतकाको सहभगिता रहेको थियो l

बागमती गाउँपालिकामा  कक्षा १२ सम्म संचालित विद्यालय ३, कक्षा १०  सम्म संचालित २, आधारभूत कक्षा ८ सम्मको ११ र आधारभूत तह कक्षा ५ र सो भन्दा कम कक्षा संचालन भएका विद्यालय संख्या ३४ गरी सामुदायिक विद्यालयहरु ५० रहेको छ भने संस्थागत विद्यालय एक मात्र रहेको छ l   सामुदायिक र संस्थागत विद्यालयहरुमा चालु शैक्षिक वर्षमा जम्मा ८ हजार एक सय तीस विद्यार्थीहरु अध्ययनरत छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *