संवाददाता – आशिष बल ,
मकवानपुर l सहिद स्मृति अन्तरपालिका स्तरीय खुला नकाउट पुरुष फुटबल प्रतियोगिताको उपाधी बागमती गाउँपालिकाले हात पारेको छ ।आज बकैया गाउँपालिका ४ स्थित जुरेलीको खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा मनहरी गाउँपालिकालाई ४-३ गोल अन्तरले पराजित गर्दै बागमती पालिकाले उपाधी जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो l
उपाधीसँगै बागमती पालिकाले नगद एक लाख सहित ट्रफी र प्रमाणपत्र हात पारेको छ । उपविजेता मनहरी गाउँपालिकाले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागमतीका उमेश पाख्रिन घोषित भए l उनले नगद १० हजार सहित ट्रफी र मेडल प्राप्त गरे l विधागत तर्फ उत्कृष्ट डिफेन्डर बागमतीका किरण बज्यु घोषित भए l उत्कृष्ट मिडफिल्डर र फरवार्ड क्रमश: मनहरीका विपिन तुम्सिङ र राहुल थापा घोषित भएका थिए l उनीहरुले जनही नगद पाँच/पाँच हजार सहित ट्रफी र मेडल प्राप्त गरेका थिए l खेलको म्यान अफ दि म्याच घोषित भएका मनहरीका सशील थापालाई नगद दुई हजार सहित ट्रफी र मेडल वितरण गरिएको थियो l
अखिल नेपाल खेलकुद महासंघ बकैया तथा सहिद स्मृति शान्ति वाटिकाको आयोजनामा गत कार्तिक २१ गतेबाट सुरु भएको सहिद स्मृति अन्तरपालिका स्तरीय खुला नकाउट पुरुष फुटबल प्रतियोगिता मकवानपुर जिल्लाको १० वटा पालिका मध्ये बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका गरी पाँच पालिकाको सहभागिता रहेको थियो l त्यस्तै छिमेकी जिल्ला बाराको निजगढ नगरपालिका, सिन्धुलीको मरीण गाउँपालिकाको पनि सहभागिता थियो भने आमन्त्रित टीमको रुपमा प्रदेश प्रहरी क्लब, माझी संघ मकवानपुरले सहभागिता जनाएका थिए । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सामाजिक विकास मन्त्री मा. कुमारी मोक्तानले गर्नुभएको थियो ।
अखिल नेपाल फुटबल महसंघ बकैयका अध्यक्ष जयबहादुर थोकरको सभापतित्वमा भएको प्रतियोगिता समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय प्रेम बहादुर पुलामिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बकैया पालिकाका उपाध्यक्ष्य भक्त खत्री, पूर्व पालिका अध्यक्ष दामोदर खनाल, वडाध्यक्षहरु लगायतको आतिथ्य रहेको थियो ।
गत कार्तिक २१ गते सुरु भएको प्रतियोगिताको कार्तिक २५ गते भएको फाइनल खेल सकिन सात मिनेट मात्रै बाँकि रहदा दुई टीम बीच भएको सामान्य विवाद पछि खेल स्थगित भएको थियो l आज आयोजकको निर्णयानुसार खेल ७० मिनेट खेलाइएको थियो l