माइतीघरमा कर्फ्यु, जिल्ला प्रशासनले तोक्यो युवा संघ र प्रसाईको कार्यक्रम स्थल

 

काठमाडौं । माइतीघरदेखि बानेश्वरसम्म निषेधाज्ञा तोकेपछि नेकपा एमालेको युवा तथा विद्यार्थी संगठनले ७ मंसिरमा आयोजना गरेको प्रदर्शन काठमाडौंको तिनकुनेमा हुने भएको छ । युवा संगठन राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार एक सूचना जारी गरी प्रदर्शनको स्थान परिवर्तनबारे जानकारी गराएका हुन् ।

त्यस्तै  राजतन्त्र र हिन्दू राज्यको पक्षमा व्यवसायी दुर्गा प्रसाईंको समूहले सोहि दिन गर्ने भनेको आन्दोलनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु तोकिदिएको छ । प्रसाईं समूहसँगको छलफलपछि प्रशासनले बल्खुमा प्रदर्शनका लागि अनुमति दिएको हो ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का नाममा प्रसाईले बिहीबार माइतीघरमा प्रदर्शन गर्न लागेका थिए ।

एमालेनिकट युवासंघले माइतीघरमा प्रदर्शन गर्न लागेपछि सोही मिति र स्थानमा  दुर्गा प्रसाईले पनि प्रदर्शन गरिने भएपछि सरकारले माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र तोकेको हो । सुरक्षा चुनौतीका कारण देखाउँदै माइतीघरमा प्रदर्शनका लागि निषेध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा  मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ  ।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा जारी उक्त आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई  जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *