मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन आह्वान गरेको छ ।
गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन हुन गईरहेकाले योजनामा सहभागी हुन इच्छुक व्यक्तिलाई यसको अवसर लिनका लागि पालिको सूचनामार्फत भनेको हो । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार यस योजनामा सहभागी हुन इच्छुक व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र आवेदन दर्ता गर्न सक्नेछन् ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस योजनामा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई डकर्मी, सिकर्मी,लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जिबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु यस योजनामा सहभागी हुनसक्ने पालिका अध्यक्ष लामाले बताए ।
अध्यक्ष लामाले गाउँपालिकाको साझेदारी लगानीमा सामाजिक सुरक्षा कोषमा सहभागी भई आफ्नो भविष्य सुरक्षित गर्नका लागि पालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई आग्रह गरेका छन् ।
यस योजनामा आबद्ध हुन चाहने अनौपचारिक क्षेत्रका श्रमिकहरुले सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, सम्बन्धित वडा कार्यालयले निज अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक रहेको भनि गरेको सिफारिसपत्र, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणा पत्र, चेकको प्रतिलिपि बुझाउनुपर्ने पालिकाले सूचनामा भनेको छ ।
यस्तै, स्वरोजगार व्यक्तिको लागि सम्पर्क नम्बर सहितको हस्तलिखित आवेदन, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो २ प्रति, पेशा वा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि/दर्ता नभएको हकमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, प्यान वा कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, मासिक कोषमा रकम जम्मा गर्ने सम्बन्धी स्वघोषणापत्र, चेकको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।
‘प्राकृतिक स्रोत, कृषि, पर्यटन र पूर्वाधारः सुखी र समृद्ध भीमफेदी निर्माणका आधार’ भन्ने नारासहित अगाडी बढिरहेको मकवानपुरको भीमफेदी गाउँपालिका बागमती प्रदेशमै पहिलो पटक अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमा जुटेको हो । नेपालमा यसरी स्थानीय सरकारले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने मध्ये दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो ।
भीमफेदी गाँउपालिकाको गाँउसभाबाट स्वीकृत कार्यक्रम अनौपचारिक तथा स्वरोजगार श्रमिकको भविष्य,सामाजिक सुरक्षा,सहकार्य, योगदान र सहभागिताको लागि भीमफेदी गाउँपालिका र योगदानमा आधारित सामाजिक सुरक्षा कोष बिच सम्झौता भए बमोजिम कार्य अघि बढेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले योजनामा सहभागी हुन पूरा गर्नुपर्ने विभिन्न आवश्यक मापदण्डहरुबारे सूचना प्रकाशन गरी सम्बन्धित व्यक्तिलाइ जानकारी समेत गराएका छन् ।
पालिकाले जारी गरेको सूचना अनुसार आवश्यक मापदण्डहरु यस प्रकार छन् :
क) वडाबाट प्राप्त निवेदन उपर सामाजिक विकास समितिले आवश्यक परिमार्जन गरी सूचिकृत श्रमिकको अन्तिम नामावली प्रकाशन गरिनेछ।
ख) अन्तिम नामावलीमा सूचीकृत श्रमिक यस चालू आर्थिक वर्षको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको योगदानकर्ता सूचीमा सूचिकृत रहनेछन् ।
ग) यस योजनामा सहभागी हुन प्रत्येक श्रमिकले अनिवार्य बैंक खाता खोलेको हुनुपर्नेछ ।
घ) यस योजनामा सहभागी भएपश्चात योगदानकर्ताले अनिवार्य मासिक रुपमा सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्नेछ ।
ङ) अनौपचारिक क्षेत्रका श्रमिकको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११% रकम र गाउँपालिकाको तर्फबाट ९.३७% थप गरी कुल २०.३७% रकम मासिक रुपमा सामाजिक
च) अनौपचारिक क्षेत्रका सूचीकृत श्रमिकको खातामा जम्मा भएको रकमको विवरणको आधारमा गाउँपालिकाबाट सुरक्षा कोषमा जम्मा गरिनेछ । नेपाल सरकारले औद्योगिक क्षेत्रका लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७% बराबरको रकम थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ ।
छ) स्वरोजगार क्षेत्रका व्यक्तिले योजनामा सहभागी हुन जम्मा न्यूनतम आधारभुत पारिश्रमिकको ३१% वा त्यसको ३ गुणा सम्म रकम कोषमा जम्मा गर्नुपर्नेछ ।
ज) सूचिकृत योगदानकर्ता श्रमिकहरूले सामाजिक सुरक्षा योजनाको सुविधाहरू प्राप्त गर्नका लागि घटना घटेको भन्दा अघिको बाह्र महिनामा कम्तिमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनु पर्नेछ ।
झ) योगदानकर्ताले योगदान रकम अग्रिम आवधिक रुपमा जम्मा गर्न सकिने तथा अवकास बचत योजनामा जम्मा हुने गरी अतिरिक्त रकम जम्मा गर्न सक्नेछन् ।
ञ) गरिब घरपरिवार सूचीमा सूचिकृत परिवारको सदस्यलाई प्राथमिकता दिईनेछ ।