काठमाडौं । ४ दिने औपचारिक नेपाल भ्रमणमा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा शनिबार राती नेपाल आइपुगेका गुटेरेसले आज दिउँसो २ बजे प्रधानमन्त्री दाहाल र ४ बजे राष्ट्रपति पौडेलसग भेटवार्ता गर्ने कार्यसूची तय भएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तापछि गुटेरस र प्रधानमन्त्री दाहालले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गर्नेछन् । उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।
सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।