दशै‌काे ऋण तिर्ण सुनको कण खोज्न त्रिशूली किनारा तर्फ लागे बोटेहरू

तनहुँ दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।

‘दसैँमा जुटाएको दामले घर खर्च भ्याएन । तीस-चालीस हजार रुपैयाँ त ऋण नै खोज्नुपर्यो’, शनिबार बिहानै सुनको खोजीमा धादिङको त्रिशूली किनारा तर्फ लागेका ६८ वर्षीय हर्कबहादुर बोटेले भने, ‘त्यही ऋण खर्च जुटाउन यता आएको हुँ । आइतबार बिहानैबाट सुन खोज्ने काम गर्नुपर्ला ।’

पचपन्न वर्षीया श्रीमती गौमाया, ३५ वर्षीय छोरा रामबहादुर, छोरी ज्वाइँ ४५ वर्षीय कमल बोटे र ४० वर्षीया अनिता बोटे गरी पाँच जना भएर सुन खोज्न हिँडेको हर्कबहादुरले बताए । मादी किनारामा पर्ने कोमलटारीमा करिब ४० घर बोटेको बसोबास छ ।

यहाँका करिब २५ घरका बोटे त्रिशूली, कालीगण्डकी, बुढीगण्डकी र मस्र्याङ्दी किनारामा सुन खोज्न जाने गर्छन् । प्रायः सुन खोज्न जाँदा श्रीमान्–श्रीमतीसहितका परिवार भएर जाने चलन रहेको हर्कबहादुरले जानकारी दिए ।

सुन खोज्न जानेले काठको डुँड, बाँसको चनौटो र बालुवा हाल्ने विशेष खालको सामान (पाटी) अनिवार्यरूपमा लैजानुपर्दछ । सुन खोज्दा नदी किनारामा प्रायः दुई जनाले मिलेर बालुवा छान्नु पर्छ । घरबाटै त्रिपाल, भाँडावर्तन, लत्ताकपडा लैजाने र नदी किनारामै पाल टाँगेर रात बिताउने गरिएको सुन खोज्न त्रिशूली किनारामा पुग्नुभएका कमल बोटेले बताए । बालुवा चाल्ने क्रममा महिनाको करिब २० हजार बराबरको काँचो सुन सङ्कलन हुनेसमेत कमलले जानकारी दिए ।

घरमा मकैखेतीसमेत गरेकाले खेती थन्क्याएर तिहारलगत्तै आफू सुन चाल्न त्रिशूली किनारामा जाने योजना बनाएको ६५ वर्षीय वीरबहादुर बोटेले बताए । करिब ४५-५० दिन सुन चालेर घर फर्किने गरेको उनको भनाइ छ ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *