प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन ५ वर्षसम्म टिक्ने दाबी गरेका छन् । बिहीवार दिउँसो रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन गर्दै उनले गठबन्धन फुट्छ भनेर कसैले भ्रम नपाल्न चेतावनी दिँदै यस्तो दाबी गरेका हुन् ।
यो माओवादीको एकल सरकार होइन, संयुक्त सरकार हो । तर, गठबन्धन भत्काउन टुटाउन, तोड्न अनेकौं प्रयत्न भएका छन् । तर, उनीहरू सक्दैनन् । म तपाईंलाई जोड दिएर भन्छु– यो गठबन्धन पाँचै वर्ष जान्छ । गठबन्धनको एकता र सहकार्यलाई कसैले तोड्नै सक्दैन । कसैले भ्रम नपाल्दा हुन्छ,’ उनले भने ।सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा पनि गठबन्धनको मात्र सरकार बन्ने दाबी गरे ।
हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्ष नै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदैगर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्ततः कोशीमा पनि गठबन्धनकै सरकार बन्छ,’ उनले भने ।कोशीमा अहिले गठबन्धनकै दल नेपाली कांग्रेसबाट विद्रो गरेर नेकपा (एमाले)को सहयोगमा केदार कार्की मुख्यमन्त्री बनेका छन् । तर यो समीकरण धेरैसमय नटिक्ने प्रधानमन्त्री प्रचण्डले दाबी गरेका हुन् ।
सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का उपमहासचिवद्वय जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।