मकवानपुर l बन्दी जीवन बिताइरहेका भीमफेदी कारागारका कैदीबन्दीलाई गाउँपालिकाले दसैं मनाउन खसी उपहार दिएको छ ।
मकवानपुरको बागमती गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई दुईवटा खसी उपहार दिएको हो l गाउँपालिका अध्यक्ष सर्केश घलानको निर्देशनमा वडा नं ४ का अध्यक्ष दन्तलाल माझी “किरण”को नेतृत्वको टोली कारागारमै पुगी आज शनिबार फूलपातीको दिन कारागारका प्रतिनिधिलाई ३९ केजी र ३७ केजीको दुईवटा खसी हस्तान्तण गरेको अध्यक्ष माझीले जानकारी दिए । गत गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार कैदीबन्दीहरुलाई दसैँ मनाउन खसी उपहार दिएको हो l
दसैंमा खसी उपहार पाएपछि कारागारका कैदीबन्दीहरु खुशी भएको अध्यक्ष माझीले बताए । कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएकोले जुनसुकै अवस्था भएपनि,रहेपनि चाडपर्व मान्न पाउनु पर्ने अध्यक्ष माझीको भानई थियो ।
बागमती गाउँपालिकाका भीमफेदी कारागारमा रहेका ६ जना कैदीबन्दीहरुलाई प्रत्यक्ष भेटेर जेल जीवन प्रति आफूलाई हिनता बोध नगर्न र कारागार मुक्त भए पश्चात आफ्नो र परिवारको भविष्य सोची अघि बढ्न कैदीबन्दीहरुलाई सुझाए l