राष्ट्रिय एकता हासिल गर्न हाम्रा चाडपर्वको विशीष्ट महत्व छ: प्रदेश प्रमुख शर्मा

बागमती सन्देश
शनिवार ०४, कार्तिक ।

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुलाई एउटै सुत्रमा बाँधेर राष्ट्रिय एकता हासिल गर्न र समृद्धि प्राप्तीका लागि मौलिक चाडपर्वको विशीष्ट महत्व रहेको बताउँनुभएको छ ।

नेपालीहरुको महत्वपूर्ण पर्व बडादशैं, तिहार, नेपाल संवत ११४४, छठलगायत चाडपर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख शर्माले यस्तो बताउनुभएको हो । यी चाडपर्वका सन्दर्भमा प्रदेश प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ,‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।’

शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण भएकाले उल्लेख गर्दै यो विविधताबीच एकता कायम गरी आपसी भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न हाम्रा पर्वहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हामीले मनाउँदै आएका पर्वहरुभित्र रहेका सकारात्मक पक्षलाई आत्मसात् गरी अघि बढ्ने तथा गलत संस्कार एवं अभ्यासलाई हटाउने दायित्व हाम्रै भएको प्रमुख शर्माको भनाई छ । उहाँले सामाजिक सद्भाव, सहिष्णुता र आपसी भातृत्व विकासका लागि योगदान दिने पर्वहरुप्रति गौरवबोध गर्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले नेपालीहरुले मनाउने पर्वहरुले असल मार्गमा लाग्न प्रेरित गरोस् भन्ने कामना समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *