दुग्ध उत्पादक किसानलाई ३६ लाख १२ हजार अनुदान प्रदान

बागमती सन्देश,

तिलाेत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दूध सङ्कलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरेको छ ।

दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले नियमित रुपमा पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगरप्रमुख रामकृष्ण खाणले बताउनुभयो ।

अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगरप्रमुख खाणको भनाइ छ । नगरपालिकाले सधैंजसो चालु आर्थिक वर्षमा पनि दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपियाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको खाणले बताउनुभयो  ।

उहाँले भन्नुभयो, ‘‘हामी  दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई अनुदान दिने व्यवस्था मिलाएका हौँ, दसैंका मुखमा उहाँहरुले नगद नै पाउनुभयो ।’’

तिलोत्तमामा वार्षिक ५० लाख लिटर दूध उत्पादन हुने गर्दछ, तर सबै दूध यही सङ्कलन नहुने र अन्यत्र समेत बिक्री हुने किसानहरुको भनाइ छ । नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वार्षिक सात लाखभन्दा बढी लिटर दूध सङ्कलन गर्दै आएको छ । सहकारीमार्फत तीन हजार किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दूध सङ्कलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्याङ्कमा छ ।

सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ । यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालको विश्वास छ ।

‘‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले भन्नुभयो, ‘‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्नेछ ।’’

गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको  र सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो कामको निरन्तरता दिएको  किसान खिमलाल पाण्डेको भनाइ छ ।

नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको नगरपालिकाका पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो ।

नगरपालिकामा हाल २ हजार ७ सय२२ किसानहरुले पशुपालन गर्दै आएको तथ्याङ्क छ । नगरले उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, नीति तथा कार्यक्रम र बजेटमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *