सोमबार साँझ एक टेलिभिजन अन्तवार्तामा ढाका कुमार श्रेष्ठले रविको कोर टिमको खुलासा गरेका हो! मन्त्री बनाउन भन्दै आफूसँग पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत तीन करोड मागिएको उनले दाबी गरे । श्रेष्ठले अन्तरवार्तामा भनेका छन्, ‘रास्वपा सरकारमा सहभागी हुने क्रममा तपाईं मन्त्री बन्दै हुनुहुन्छ तीन करोड तयार पार्नुहोस् भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले डिल गरेका थिए ।’
मोहनजंग सहितको टिमले तीन करोड डिल गरेको भन्दै श्रेष्ठले थपे, ‘उहाँहरूले खुलस्त भन्नुभएको हो, तपाईं दौरा सुरुवाल लगाएर रेडी हुनुहोस्, आफन्तहरुलाई बोलाउनुहोस्, भोलि मन्त्रीको शपथ लिनेवाला छ । ढुक्क हुनुहोस् मन्त्री बन्नुभयो तपाईं । तर, त्यसका लागि हामीलाई तीन करोड चाहिन्छ । पार्टीलाई सहयोग गर्नुपर्छ भनेर मलाई माग्नु भयो ।’
मन्त्रिपरिषद् विस्तार नहुँदासम्म थापाको टिमले बारम्बार तीन करोड रकम मागेको भन्दै उक्त संवादको रेकर्ड दूरसञ्चारबाट निकाल्न सकिने समेत श्रेष्ठले बताएका छन् । त्यति मात्र नभएर मन्त्रीका लागि भएको डिलको म्यासेजसमेत आफूसँग सुरक्षित रहेको उनले दाबी गरेका छन् ।
थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र ‘तीन करोड दिए लामिछानेकी पत्नी निकिता पौडेलसँग मन्त्रीका लागि लबिङ गरिदिने’ आश्वासन दिएको उनले सुनाए । केन्द्रीय सदस्य मोहनजंग थापाले पैसाका लागि आफूलाई पटक–पटक फोन गरेको श्रेष्ठले बताए ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेकाले पार्टीलाई सहयोग गरिदिन भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएको थियो । चौतर्फी आलोचनापछि डा. श्रेष्ठलाई रास्वपाले गत चैतमा कारबाही गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ अनुसार आफ्ना सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्थाअनुसार गत २९ चैत्रमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यतादेखि सांसद पद पनि खारेज गरिदियो ।
सो अडियो टेप बाहिरिएलगत्तै श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्याएका थिए । उनले ‘आफू डुबे अरूलाई पनि डुबाउने’ चेतावनी पनि दिएका थिए ।
आफूविरुद्ध कारबाही भएपछि उनी अदालतको शरणमा पनि नगएका होइनन् । अदालतले पार्टीको कारबाहीलाई सदर गरेसँगै उनको पद गएको थियो । उनको स्थानमा रास्वपाले बिन्दबासिनी कंसाकारलाई ल्याइसकेको छ ।
रास्वपा अपरिपक्व नेताहरूको पार्टी हो : ढाकाकुमार श्रेष्ठ|