

मकवानपुरको बागमती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष ०७९।०८० को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम बागमती गाउँपालिको सभा हलमा हिजो मंगलबारबाट सुरु भइ आज बुधबार सम्पन्न भएको हो l
स्वास्थ्य सेवा आम जनता संग प्रत्यक्ष सम्बन्ध जोडिएको, संवेदनशील र अत्यावश्यक सेवा भएकोले सर्वसाधारण जनताको पहुँचमा सहजै सेवा पुर्याउनु पर्ने कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सर्केश घलानले जोड दिनुभयो l साथै स्वास्थ्य सेवालाई पारदर्शी, जनमैत्री साथै आम सर्वसाधारण सेवाग्राहीको पहुँचयोग्य बनाउन सरोकारवाला सबैमा अध्यक्ष घलानले आग्रह गर्नु भयो l
स्वास्थ्य सेवा सर्वसाधारण जनताको पहुँचमा सहजै सेवा कसरी पुर्याउन सकिन्छ , साथै पालिका र पालिका मातहतका स्वास्थ्य संस्था एवम् अन्य संस्थाहरुले स्वास्थ्य सेवा कसरी प्रवाह गरिरहेक छन्, सेवा प्रदान गर्दा देखिएका अवसर तथा चुनौती बारे जानकारी लिई चालु आ.व.मा स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ गत आ.व. २०७९/८० को वार्षिक समीक्षा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताले बताउनु भयो l साथै पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई अधिकाधिक प्रतिफलमुखी बनाउन कार्योजना मुताविक खर्च गर्ने गरेकोले योजना अनुरुप सेवा प्रदान गर्न स्वास्थ्य शाखा सफल भएको र स्वास्थ्य क्षेत्रमा अझै बजेट बढाउनु पर्ने स्वास्थ्य प्रमुख गुप्ताको भनाइ थियो l
चालु आ.व. मा पालिकाका ९ वटै स्वास्थ्य इकाईहरुमा गर्भवती महिलाहरुको भिडियो एक्स-रे तथा स्वास्थ्य परीक्षणको सेवा उपलब्ध गराउने योजना रहेको, ९९ प्रतिशत भन्दा बढी बालबालिकाले खोप प्राप्त गरेकाले पूर्णखोप सुनिश्चिता घोषणा भएको, संस्थागत सुत्केरीमा वृद्धि भइ ४७ प्रतिशत पुगेको, सुत्केरी महिला तथा विपन्न परिवारका बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गरिदै आएको लगायतका सम्पादित कार्यक्रमहरु स्वास्थ्य प्रमुख गुप्ताले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो l
कार्यक्रमा स्वास्थ शाखाका प्रमुख गुप्ता र ९ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल ब्यक्तीहरुले गत आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए l साथै प्रस्तुत प्रतिवेदन माथी छलफल गर्नुका साथै सहभागीहरुले उठाइएका जिज्ञासा, समस्या, चुनौती र आगामी कार्ययोजना एवम् कार्यदिशा सम्बन्धमा छलफल पनि भएको स्वास्थ्य प्रमुख गुप्ताले जानकारी गराउनु भयो l स्वास्थ्य सेवा क्षेत्रलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनीधि र सरोकारवालाहरुको भुमिकालाई अझ सक्रिय बनाउदै लैजानु पर्ने, तर यस सेवा क्षेत्रमा सबैभन्दा बढी जिम्मेवार स्वास्थ्यकर्मी नै हुनुपर्ने समीक्षात्मक कार्यक्रमको निष्कर्ष थियो l
बागमती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनाका भएको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशेष अतिथि स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख कृष्णबहादुर मिझार, तथ्यांक अधिकृत भागरथ रौनियार लगायतका उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताले गरेका थिए l
