हेटौंडा चुरियामाई मन्दिर नजिक तीर्थयात्री बोकेको बस दुर्घटना: ७ जनाको मृत्यु, १९ जना घाइते

हेटौंडा – बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेका छन् । तीमध्ये चार महिला र तीन पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

चालकसहित २७ यात्रु सवार उक्त बस गएराति चुरियामाई मन्दिर नजिकैको खोलामा खसेको थियो । घाइते यात्रुहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।

बस चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *