हेटौँडा। सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा उहाँको बास थियो। अब भने सुकुमलालको बसाइ सहज हुने भएको छ।
बारबेर केही नभएकाले बस्दै आएको घर खुला गोठजस्तै थियो। भान्साका भाँडाबर्तन गतिला थिएनन्। भएका सिलाबरका पुराना भाँडाकुँडा असरल्ल रहन्थे। न लगाउने कपडा नै गतिला हुन्थे, न त ओढ्ने ओछ्याउनेले चिसो छल्न सक्थे। यसरी नै वर्षौंदेखि दैनिकी चल्दै आएको थियो पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेका ४१ वर्षीय सुकुमलालको पाँच जनाको परिवारको। छाप्रोमा बसेर दैनिक गुजारा गर्दै आउनुभएका सुकुमलालको सहृदयी दाताको सहयोगमा अबको घरायसी दैनिकी फेरिने भएको छ।
स्थानीयका ‘काका’ सुकुमलाल प्रजा आर्थिक रूपमा त पछाडि हुनुहुन्छ नै। त्यति मात्र होइन बोल्न र सुन्न नसक्ने उहाँलाई साङ्केतिक भाषामा भर पर्नुपर्ने अवस्था छ। उहाँलाई जेठी श्रीमतीले छाडेर गएपछि अहिले कान्छी श्रीमतीसँग बस्दै आउनुभएको छ। दुई छोरा र एक छोरीसहितको सुकुमलालको घरको दुरावस्थाले जोकोहीको मन छुन्छ। सुकुमलालका तीन दाजुभाइमध्ये साइँलो भाइकोमा बसेर छोरी कक्षा ८ मा र छोरा कक्षा ४ मा स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्दै हुनुहुन्छ। जेठो छोरा घरको आर्थिक विपन्नताकै कारण अध्ययन गर्नबाट वञ्चित हुनुभएको छ।
यसरी जुट्यो खर्च
सुकुमलाल र उहाँका परिवारलाई बासको समस्या रहेको जानकारी पाएपछि स्थानीय युवा राजन तामाङसहितका केही युवा सुकुमलालको घरमा पुग्दा गारो नभएको गोठमा बसेको देखेर उहाँहरूलाई असहज भयो। तामाङले सुकुमलालको खानेदेखि बस्ने बाससम्म व्यवस्था नरहेको र दयनीय अवस्था देखेपछि केही जोहो गरिदिनुपर्छ भनेर आफूहरू प्रयासमा लागेको बताउनुभयो। सुकुमलालको अवस्थाबारे सामाजिक सञ्जालमा जानकारी दिएपछि सहयोग जुट्न थालेर घर बनाउन सुरु भएको उहाँले बताउनुभयो। अहिले घर निर्माणले पूर्णता पाएको छ।
नेपालभित्र र बाहिर रहेका नेपालीको सहयोगबाट जुटेको रकमले चर्पीसहितको नयाँ घर बनेको हो। निर्माणमा दुई लाख १८ हजार ७ सय ५० रुपियाँ खर्च भएको छ। दुई लाख सात हजार २ सय ७० रुपियाँ देश विदेशका नेपालीबाट आर्थिक सहयोग जुटेको थियो। घर निर्माणमा परिवारका सदस्यसँगै स्थानीयले पनि श्रमदान गरेका थिए।
दाताको खोजी
झ्याल, ढोका, रङ्गरोगनपछि छुट्टै शौचालयसहितको चिटिक्कको एककोठे घर बनेको छ सुकुमलालको परिवारका लागि। परिवार सङ्ख्या धेरै हुँदा बासका लागि समस्या हुने भएकाले कोठा थप गर्न दाताको खोजी गरिएको भवन निर्माण संयोजन गर्नुभएका तामाङले जानकारी दिनुभयो।
“हामीले कोठा थप गर्न मिल्ने गरी घरको संरचना बनाएका छौँ। एउटा बस्ने कोठा र भान्सा बनाउन सहयोग जुटे परिवारका सबै सदस्य एकै घरमा बस्न पाउँथे,” उहाँले भन्नुभयो, “तत्कालका लागि छोराछोरीलाई काकाको घरमा बस्ने व्यवस्था मिलाइएको छ।”
– राममणि दाहाल गाेरखापत्र