अपडेट: मकवानपुरमा पहिरोमा परी बेपत्ता भएका मध्ये अठार महिने बालिकाको शव फेला, अझै दुई अज्ञात

मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानको पहिरोमा परी बेपत्ता भएका मध्ये अठार महिने बालिका दिव्या पहरीको शव भेटिएको छ l

सिन्धुलीको हरिहरपुरगढी वडा नं. ३ स्थित  बनौलीको बगरमा आज साझ शव भेटिएको हो l बालिकाको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थियो l खबर पाएपछी खोज तथा उद्वार टोलीमा खटिएका टोली सो स्थानमा पुगी बालिकाको शव मकवानपुर तर्फ ल्याइएको  प्रहरी नायब उपरीक्षक प्रदिप बस्नेतले जानकारी दिनुभयो l

 

आज दिउसो   ६० बर्षीय अक्कल बहादुर स्याङ्तान र उनको छोरी २२ बर्षीया शिला पहरीको शव पनि  भेटिएको हो l   अझै अक्कल बहदुरका ज्वाई २५ बर्षीय जिबन पहरी, नाती ४ बर्षीय मिलन पहरी बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको  जनाएको छ ।

अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रेदोभानस्थित मृतक अक्कल बहादुर स्याङ्तानलाई पहिरोले बगाएको थियो । उक्त पहिरोमा एकै परिवारका ६ र पाहुँना लाग्न आएक १ गरी ७ जना परेका थिए ।

अक्कल बहादुरको श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तानको पहिरोमा परेको केही बेरमै उद्धार गरिएपनि बचाउन भने सकिएन । चिन्ताजनक अवस्थामा उद्धार गरिएको उनको स्थानिय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यस्तै सोही पहिरोमा परी बेपत्ता भएका सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं.१ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार साँझ ७ बजे बागमती खोलाको किनारबाट प्रहरीले जिवितै उद्धार गरेको थियो । खुट्टामा समस्या देखिएको घिसिङलाई मंगलबार नै उपचारको लागि हेटौंडा ल्याईएको थियो । घिसिङ सो घरमा पाहुना लाग्न आएका थिए ।

खोज तथा उद्धारका लागि सशस्त्र प्रहरीबल १४ नं. गण मकवानपुरको प्रहरी टोली, फापरबारी इलाका प्रहरी कार्यालयका टोली तथा सिन्धुलीको कपिलाकोट इलाका प्रहरी कार्यालयको संयुक्त टोलीबाट खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *