साेमबार, २२ साउन ।
हेटौंडा । आज देशका विभिन्न ठाँउमा अधिवक्ता शितल पाण्डेकाे अभिव्यक्ति र प्रहरी ज्यादत्तीका विरुद्ध विराेध प्रदर्शन भए संगै मकवापुरमा पनि संयुक्त माेर्चाद्वारा विराेध प्रदर्शन सहित गृहमन्त्रीलाई ध्यानाकर्षण गराईएका छन । नेपाल मगर संघ र तामाङ घेदुङका संयुक्त मोर्चाद्वारा अधिवक्ता शितल पाण्डे र प्रहरी ज्यादत्तीकाे विषयलाई लिएर गम्भीर मानव अधिकारकाे उलंघन भएकाेले आवश्यक कार्वाही गरि पाँउ भनी मकवानपुरका सिडियो मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन ।
करिब एघार सय जना मगर तामाङ लगायत मकवानपुरका जनजातिहरुको संयुक्त मोर्चाले हेटाैंडामा विराेध प्रदर्शन गर्दै अधिवक्ता पाण्डेलाई पुन: कारवाही गर्न र शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा कुटपिट गर्ने प्रहरीहरुलाई कारवाहीको माग गरेको छ । संयुक्त मोर्चाकाे विराेध प्रदर्शनले मकवानपुर सिडियो कार्यालय अगाडी कोण सभा गर्दै माग सुनुवाई नभए अर्को आन्दोलन समेत गर्ने बताइएको छ ।
अधिवक्ता भगवती पाण्डे शितलले साउन ७ गते प्राइम एचडी टेलिभिजनमा दिक्पाल कार्कीद्वारा संचालित चिया गफ कार्यक्रममा तामाङ र मगर समुदायमा दाजु बहिनी बीच बिवाह हुने र त्यो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैंसी र बाख्रा भन्दा पनि तुच्छ हुन्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
संयुक्त मोर्चाकाे केन्द्रीय समितिले साउन ९ गते आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डाैमा उजुरी दर्ता गरेको थियो तर उजुरी दर्ता गरेको लामो समय सम्म पनि पाण्डे पक्राउ नपरेपछि शान्तिपूर्ण रुपमा प्रहरी परिसर टेकु घेराउ गर्ने क्रममा प्रहरी प्रशासनबाट अमानवीय रुपमा कुटपिट भएपछि प्रहरी परिसर टेकुको इन्चार्ज प्रहरी वरिष्ठ निरीक्षक दानबहादुर कार्की लगायतका संलग्न प्रहरीहरुलाई समेत कारवाही गरिपाउँ भनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रहरीले पाण्डेलाई गिरफ्तार गरेको केहि घन्टामा नै छोडेको थियो । तत्पश्चात दाेषिलाई पुन:कार्वहीकाे माग गर्दै देशका विभिन्न ठाँउमा सँयुक्त माेर्चाद्वारा विराेध प्रदर्शन गरिएकाे थियाे ।
मोर्चाले पल्पसा हल हेटाैडाबाट शान्तिपूर्ण रुपमा नारावाजी गर्दै नेपाल तामाङ घेदुङ जिन्दाबाद, नेपाल मगर संघ जिन्दाबाद, आदिवासी जनजाति एकता जिन्दाबाद, सामाजिक सद्भाव बिथोल्न पाईंदैन, अभियुक्त शितल पाण्डेलाई हदैसम्म कारवाही गर, अधिवक्ता भगवती पाण्डेको लाईसेन्स खारेज गर, अभियुक्तलाई छुटकारा दिलाउन पाईदैन, जातीय सद्भाव बिथोल्नु पाइदैन , बहु-साँस्कृतिक विविधतालाई सम्मान गरौं , दोषीलाई उन्मुक्ति दिन पाईदैन, विभेदकारी प्रशासन चाहिदैन , प्रहरी दमन बन्द गर, दोषी प्रहरीलाई कारवाही गर, जस्ता प्ले कार्ड बोकी नारा समेत लगाएका थिए । कार्यक्रममा मगर संघका केन्द्रिय अनुशासन बिभाग संयोजक अशोक सारु मगर, केन्द्रीय सदस्य अमृता थाापा मगर, प्रदेश उपाध्यक्ष खेेम जर्गा मगर , प्रदेश सचिव राम कुमार बोगटी मगर, जिल्ला अध्यक्ष सन्देश तुम्सिङ मगर, नेपाल तामङ घेदुङ सङ्घीय बिभागिय प्रमुख सुनील मोक्तान, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष, लीला कुमार घलान, नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज सुवास सिन्तान, साँस्कृतिक घेदुङ केन्द्रीय सदस्य सुमिरा थिङ , जिल्ला अध्यक्ष कालू घलानको उपस्थिति रहेको थियो ।