मकवानपुर , अज्ञात व्यक्तिले मकवानपुरको बागमती गाउँपालिकाका एक विद्यालयको ताला फोडेर चोरी गरेको छ । बागमती गाउँपालिका वडा नं.- १, करौजेंस्थित टंकेश्वर आधारभूत विद्यालयको कार्यालयको ताला फोडेर नगद रकम सहित केही सामान चोरी गरेको हो । विद्यालयको प्रशासन कक्षको ढोकाको ताला ह्याक्सो ब्लेडले काटेर भित्र पसी टेबलको घर्राको ताला तोडेर नगद रु. ६ हजार सहित केही समान चोरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश स्याङ्तानले जानकारी दिए । विद्यालयको प्रशासन कक्षको ताला र टेबलको घर्रा तोडेर चोरी भएको शिव राईगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक यान बहादुर बरामले जनाएको छ ।
आज सोमबार बिहान विद्यालय नजिक घर भएका एक महिलाले विद्यालय प्रशासन कक्षको ढोका खुला देखेपछि विद्यालयका कार्यालय सहयोगीलाई खबर गरे पश्चात सो घटना बारे जानकारी पाएको प्रधानाध्यापक बिना कुमारी राईले बताए l श्रावण महिनाको १ गतेदेखि गाउँपालिकाको शैक्षिक क्यालेन्डर अनुसार वर्षे बिदा दिएका छौं, यो वर्षे बिदामा विद्यालय संचालन नभएको मौका छोपी अज्ञात व्यक्तिबाट यस्तो कुकर्म भएकोछ, यस घटनाले आफूलाई दु:खित बनाएको प्रधानाध्यापक राईको भनाइ थियो l विद्यालय वर्षे बिदाका कारण नियमित कार्यालय नखोल्ने भएकोले विद्यालयको ताला गएराति फोडेको हो वा केही दिन अघि तोडेको हो, यकिनका साथ भन्न सकिन्न, तर विद्यालयमा यस्तो प्रकृतिको घटना पटकपटक दोहोरिएकोले दोषी पत्तालगाई नियम अनुसार कारबाही गर्न माग गर्दछु – प्रधानाध्यापक राईको भानाइ छ l
विद्यालय प्रशासनबाट फोन मार्फत जानकारी पाएँ पछि विद्यालयमा पुगी वस्तुस्थिति बारे अध्ययन पश्चात प्रहरीलाई खबर गरेको वडा सदस्य हस्त बहादुर थिङले बताए l समुदायको बिचमा रहेको यस विद्यालयमा यस्तो घटना घट्नु आफैमा लज्जाको विषय भएको भन्दै वडा सदस्य थिङले दोषी (चोर) पत्तालगाई आवश्यक कार्बाही गर्न प्रहरी प्रशासनलाई अनुरोध गरे l एक गैरसरकारी संस्थाद्वारा विद्यार्थीहरुलाई वितरण गरेको पोसाकको कपडा (ड्रेस) सिलाइ गर्न विद्यार्थीहरुबाट आफूबाट संकलित रकम कार्यालयको टेबलको घर्रामा राखेको रकम चोरीभएको शिक्षक रोमन स्याङ्तानले बताए l शिक्षक स्याङ्तानले भने – अब चोर पत्ता नलागे चोरी भएको रकम मैले व्यहोर्ने कि, विद्यालयले व्यहोर्ने, कसले व्यहोर्ने ?
गत जेठ ३० गते मंगलबारका दिन सोही विद्यालयमा यस्तै प्रकृतिको घटना घटाएको वडा सदस्य थिङले जानकारी गराए l विद्यालयले वाईफाईको राउटर बन्द गरेको कारण विद्यालय नजिक रहेका एक युवकले वाईफाई (इन्टरनेट) को राउटर खोली इन्टरनेट चलाउने उद्देश्यले यस अघिपनि विद्यालय प्रशासन कक्षको ताला तोडेको थियो र प्रहरीलाई उजुरी गरे पश्चात शिव राईगाउँ प्रहरी चौकीबाट खटिएका टोलीबाट गरेको अनुसन्धानबाट दोषी पत्तालगाई उक्त युवकले विद्यालयको चोरी गरेको समानहरु युवकको घरबारबाट बरामद समेत गरिएको वडा सदस्य थिङले बताए l मानिस हो गल्ती हुन्छ, एक पटकलाई सुधारको मौका दिउ भनी यस अघि उक्त युवकलाई माफी दियौं, तर पटकपटक अनैतिक कार्य दोहोरिएकोले उपरान्त जो कोहीलाई पनि अब सुधारको मौका दिनुहुँदैन, कानुन अनुसार कार्बाही गर्नु पर्छ, हुनु पर्छ – वडा सदस्य थिङको भनाइ थियो l
घटना बारे तुरुन्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाईका प्रहरी कार्यालय फापरबारीलाई जानकारी गराइएको र घटनाबारे थप अनुसन्धान गरिने शिव राईगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विनोद प्रसाद यादवले जानकारी दिए l घटनाको स्थलगत अध्ययन गर्दा विद्यालयकाे प्रशासन कक्षमा भएका कप्यूटर, प्रिन्टर तथा अन्य सामग्रीहरु अनियन्त्रित रुपमा चलाएको देखिएता पनि सामानहरुमा खासै क्षति नपुर्याएको तर केही सामानहरु चोरी भएको असई यादवले बताए l