मकवानपुरको पूर्वी बागमती गाउँपालिको नमूना विद्यालय जनता माध्यमिक विद्यालयलाई बागमती प्रदेश सरकारले बस उपलब्ध गराएको छ ।
बागमती गाउँपालिका वडा नं ८ शान्तिपुरमा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो ।
आ.व. २०७९/८० मा प्रदेश सरकारबाट २५ लाख र बागमती गाउँपालिकाबाट प्राप्त ७ लाख रकमबाट खरीद गरेको बस आज बुधबार प्रदेशसभा सदस्य माननीय प्रेमबहादुर पुलामी र गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा विद्यालयलाई बस हस्तान्तरण गरेका छन् । एस एम एल कम्पनीको उक्त बस बयालिस सिट क्षमता रहेको छ ।
जनता माविको प्रांगणमा भएको बस हस्तान्तरण कार्यक्रमा विद्यालयलाई बसको चाबी हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य पुलामीले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउने उद्देश्यले प्रदेश सरकारले स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअनुसार बस सहयोग गरेको र विद्यालयले सही प्रयोग गरी विद्यार्थीलाई सुविधा दिनका लागि अनुरोध गर्नु भयो। तर विद्यालयको सेवा क्षेत्रका सबै विद्यार्थीहरुलाई एउटा बसले मात्रै सुविधा दिन सम्भव नहुने भएकोले व्यवस्थापनमा सहज नभएको समेत बताउनु भयो l हस्तान्तरित बसलाई एउटा सेतो हात्तीको संज्ञा दिदै वहाँले भन्नु भयो – यो एउटा सेतो हात्ती हो, यसलाई स्याहारसुसार गर्न त्यति सजिलो छैन्, हात्तीलाई दानापानी पनि राम्रै चाहिन्छ, हात्ती कमजोर भएर लडेपछि उठ्न सक्दैन l वहाँले थप संकेत गर्दै भन्नु भयो – केही विद्यालयहरुले यसरीनै प्राप्त गरेका विद्यालय बसहरु व्यवस्थापन गर्न नसकेर संचालनमा छैनन् , त्यो अवस्था यहाँ पनि नआउला भन्न सकिन्न, तर यस विद्यालयप्रति मेरो विश्वास छ, बस बन्द गरी राख्ने परिस्थिति आउने छैन l
हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्षले भन्नु भयो – स्थानीय सरकारले विद्यालय बस संचालनको अवधारणा अनुरुप गाउँपालिकाले पालिकाको एकल बजेटबाट आ.व. २०७७/७८ मा देवकी माविलाई विद्यालय बस उपलब्ध गराइएको जानकारी गराउदै जनता माविलाई पनि गत आ.व. मा बस खरिदका लागि बजेट विनियोजन गरिएको तर विविध कारणले कार्यन्वयन हुन नसकेको कुरा स्मरण गराउदै प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा अहिले बस खरिद भएको र यसलाई उपयुक्त ढंगले व्यवस्थापन र संचालन गर्न सुझाव दिनु भयो l
बस यही साउन मसान्तमा सञ्चालनमा आउने र संचालन पश्चात टाढा टाढाबाट हिडेर आउने विद्यार्थीहारुलाई राहत हुने विद्यालयका प्रधानाध्यापक यादव राज बरालले विश्वास व्यक्त गर्नुभयो।
बस सञ्चालनमा आएपछि बागमती गाउँपालिका वडा नं ४, ५,६,७ र ८ का विद्यार्थीलाई विद्यालय आवत जावतका लागि सहज हुने प्रधानाध्यापक बरालले जानकारी दिए ।
कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाले बस ल्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र कुमार तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कमान सिं पाख्रिन, वडा नं. ४ का अध्यक्ष दन्त लाल माझी, वडा नं. ६ का अध्यक्ष टेक बहादुर डिम्डुङ, वडा नं. ८ का अध्यक्ष इन्द्रमणी तिमल्सिना , प्रमुख प्रशासकीय अधिकृत झम्क नारायण घलान, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल लगायत जनप्रतिनिधि ,समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधिह र शिक्षकहरुको उपस्थिति रहेको थियो।
सम्वत् २०१९ सालमा नरसिंह प्रा.वि.को रुपमा स्थापना भएको यस विद्यालयले साविकको फापरबारी गा.वि.स. बेतिनी गा.वि.स. र राइगाउ गा.वि.स.को बालबालिकालाई शिक्षाको ज्योति दिने कार्य गर्दै आएको छन। वि.स. २०२९ सालमा यस नरसिंह प्रा.वि. राष्ट्रिय नि.मा. वि को रुपमा स्थापित उक्त विद्यालय सम्वत् २०३५ सालमा यहि राष्ट्रिय निमावि लोकहित मा.वि को रुपामा रुपान्तरण भयो । सम्वत् २०६५ सम्म आइपुग्दा लोकहित मा.वि. लोकहित उच्च मा.विको रुपमा स्थापित भयो l सम्वत् २०६६ सालबाट लोकहित उच्च मा.वि.बाट नाम परिवर्तन भै अहिले जनता मा.वि.को रूपमा परिचित छ। कक्षा १२ सम्म संचालित यस विद्यालयमा साधारण धार तर्फ शिक्षा संकायमा शिक्षा र विकास, ऐच्छिक गणित, ऐच्छिक अंग्रेजी, ऐच्छिक नेपाली, ऐच्छिकस्वास्थ्य र वाणिज्य तर्फ लेखाशास्त्र, अर्थशास्त्र, व्यवसायिक अध्ययन अध्यापन अध्यापन हुने गरेको छ l साथै यस वर्षदेखि कक्षा ११ मा ऐच्छिक विषयको रुपमा कोरियन भाषा अध्यापन गर्ने तयारी रहेको प्रधानाध्यापक बरालले जानकारी दिनु भयो l प्राविधिक धार तर्फको कृषि जेटिए (बाली विज्ञान) १८ महिने कक्षा पनि संचालनमा रहेको छ l
लामो इतिहास बोकेको यस विद्यालयले गुणस्तरीय शिक्षा राम्रो शिक्षा दिदै आएकाको छ । यस विद्यालयको सेवा क्षेत्र व्यापक छ l मकवानपुर बागमती गाउँपालिका मात्रै नभएर काभ्रेको खानीखोला ,सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका र ललितपुर जिल्लाको बागमतीगाउँपालिका पनि यस विद्यालयको सेवा क्षेत्रको रुपमा रहेको पाइन्छ । करिब १२ सय विद्यार्थी रहेको यस विद्यालयको प्राङ्गणमा रहेको आकर्षक एवम् स्तरीय मिनी रंगशाला , सुन्दर हराभरा, अनि मनमोहक दृश्य र वातावरणले जो कोहीलाई लोभ्याउछ, आकर्षित गर्दछ।