

२६ असार २०८०,मंगलबार
हेटौंडा-४, कमलडाँडामा रहेको ब्रह्मदिक एकेडेमीमा स्कुल हाउस क्याप्टेन छनोटको निर्वाचन सोमबार सम्पन्न भएको छ ।४ जना स्कुल हाउस क्याप्टेन छनोटको लागि भएको निर्वाचनमा कक्षा ९ का अजित कुमार यादव, कक्षा १० का साइमन कार्की, कक्षा ९ की खुसी लामिछाने र कक्षा १० की साविया कार्की निर्वाचित भएका छन् ।
मकवानपुर जिल्लामा प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्रलाई संकेत गरी ४ जना हाउस क्याप्टेनको निर्वाचन गरिएको हो । निर्वाचनमा कक्षा ६ देखि कक्षा १० सम्मका जम्मा २० जना विद्यार्थीहरुले उम्मेदवारी दिएका थिए भने कक्षा ५ देखि कक्षा १० सम्मका जम्मा ४ सय ३८ विद्यार्थीले मतदान गरेका थिए ।
विद्यार्थीहरुलाई वर्तमान राजनीति तथा सरकार गठनको प्रक्रियासम्बन्धी जानकारी गराउन निर्वाचन गरिएको ब्रह्मदिक एकेडेमीका नेपाली विषय शिक्षक युवराज विश्वकर्माले बताउनुभयो । उहाँले निर्वाचनले विद्यार्थीहरुमा असल नेतृत्व छनोटको अभ्यास र जिम्मेवारी बोधमा सकारात्मक प्रभाव पार्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
