अञ्जली थापा
हेटौंडा, २५ असार(रासस)
वाग्मती प्रदेश सरकारले प्रदेशमा प्रदेशकै कर्मचारी राख्ने उदेश्यका साथ पहिलो पटक ११ औं तहमा बढुवा कर्मचारीलाई प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ती पत्र दिंदै पदस्थापन गराउनभएको छ । प्रदेश सरकारले बढुवा गरेको कर्मचारीहरु डा. चन्द्र प्रसाद लुइँटेल र पुर्ण बाहादुर दर्जीलाई मुख्यमन्त्री जम्कट्टेलले नियुक्तिपत्र दिनुभएको हो ।
प्रदेशको सरकारको बैशाख ११ गतेको निर्णय अनुसार प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णय अनुसार योग्यताक्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।