बागमती गाउँपालिकाले दियो बिहानी कक्षा सञ्चालन गर्न निर्देशन, दुई वडाका विद्यालयमा भने बिदा
बागमती । मकवानपुरको बागमती गाउँपालिकाले अत्याधिक बढेको गर्मीलाई मध्यनजर गर्दै सबै विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरेर पठनपाठन सुचालु राख्न निर्देशन दिएको छ । पालिकाको गाउँ शिक्षा समितिको आइतबार (हिजो) बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि भोलि जेठ २३ गतेदेखि बिहान ६ बजेदेखि ११ बजेसम्म बिहानी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गुप्ताका अनुसार गर्मीले विद्यार्थीमा पर्न सक्ने स्वास्थ्य समस्या एवं विद्यालयबाट प्राप्त सुझाबका आधारमा बिहानी कक्षा सञ्चालन गर्न भनिएको छ । विद्यार्थीको संख्यालाई ध्यानमा राखी कक्षा कोठा अनुकुल व्यवस्थापन हुने गरी पठनपाठनलाई निरन्तरता दिन भनिएको उहाँको भनाई छ ।
पालिकाले भोलिदेखि बिहानी कक्षा सञ्चालन गर्ने निर्देशन दिएतापनि यता ६ नम्बर वडाले भने आजदेखि जेठ २५ गतेसम्म वडाभित्रका सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन भएको छ भने ८ नम्बर वडाले पनि आजदेखि जेठ २४ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।