इसिडी शिक्षकलाई ६ दिने मन्टेश्वरी तालिम

शिक्षण कार्य त्यति सहज छैन, सहज विषय होइन ।प्रारम्भिक एवम् आधारभूत तहमा त झनै शिक्षण गर्न  चुनौतीपूर्ण छ । बालबालिकाहरुको भावना, चाहना,रुची, क्षमता, स्तर अनुरुप शिक्षण सिकाइ हुन सकेन भने न सिकाइ कार्य प्रभावकारी हुन्छ न त अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न सकिन्छ । शिक्षण सिकाइ कार्य विद्यार्थी केन्द्रित, प्रयोगात्मक तथा व्यवहारिक हुन नसक्दा सरकारको लगानी, शिक्षकको मेहनत र विद्यार्थीको भविष्यप्रति नै प्रश्न चिन्ह खडा हुने गरेको छ ।

बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले शिक्षण गराउने कलाका लागि तालिम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा मकवानपुरको बागमती गाउँपालिकाले इसिडी शिक्षकका लागि ६ दिनेमन्टेश्वरी तालिम आज बिहिबारबाट सुरु गरेको छ ।

बागमती गाउँपालिकाका सामाजिक विकास संयोजक कमान सिं पाख्रिनको प्रमुख आतिथ्यतामा वडा नं. ४ स्थित महाबुद्ध आधारभूत विद्यालयको तालिम हलमा तालिम आजबाट सुरु भएको हो ।

शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र पालिका बीच भएको सम्झौता अनुरुप हाल संचालनमा रहेको अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम कार्यन्वयनका सन्दर्भमा  सामुदायिक विद्यालयमा कार्यरत इसिडी शिक्षकहरुको लागि तालिम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिनु भयो ।

प्रथम चरणमा पालिका अन्तर्गतका वडा नं. १ देखि ५ सम्ममा सामुदायिक विद्यालयका शिक्षकहरुका लागि यही जेठ १८ -२० गतेसम्म र दोस्रो चरणमा वडा नं. ६ देखि ९ सम्मका शिक्षकहरुका लागि जेठ २१-२३ गतेसम्म दुई चरण ३/३ दिन गरी जम्मा ६ दिन तालिम संचालन हुने प्रमुख प्रशासकीय अधिकृत घलानले बताउनु भयो ।

तालिममा प्रशिक्षक तथा सहजकर्ता भीमा राई, मुना राई, विजया सुब्बा, माइकल राई , वीरबहादुर राई लगायतकाले विभिन्न प्रयोगात्मक, व्यवहारिक ज्ञान तथा सीप सम्बन्धी प्रशिक्षण तथा सहजीकरण गरेका थिए l तालिममा इसिडी शिक्षक २९ जना र प्रशिक्षक र सहजकर्ता ९ जना गरी ३८ जनाको उपस्थिति रहेको थियो ।

अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यक्रम अन्तर्गत हालसम्म अभिमुखिकरण, घरघुरी सर्वेक्षण, विद्यालय बाहिररहेका बालबालिकाहरूको तथ्याङ्क संकलन, प्रविष्टि, पेसागत संघसंगठनका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, शिक्षामा कार्यरत गैरसरकारी संस्था तथा सरोकारवाला र जनप्रतिनिधिहरू संगको बैठक तथा योजना निर्माण सम्बन्धी दुई चरणमा सुझाव संकलन, गाउँपालिकाको शिक्षा नीतिको मस्यौदा तयारी, कक्षा १-३ मा शिक्षण गर्ने शिक्षकहरुका लागि मेन्टरिङ/काउन्सेलिङ तालिम  लगायतका कार्य गरिसकेको छ भने अभिभावक चेतना कार्यक्रम अन्तर्गत यही जेठ १६ गतेदेखि भिभिन्न वडाहरुमा सडक नाटक प्रदर्शन गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत घलानले बागमती सन्देशलाई जानकारी गराउनु भयो ।

 

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.