

भुपेन्द्र राना
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेकाे हेटौंडा कपडा उद्योग २८ बर्ष देखि बन्द रहेकाे छ । संसदमा पटक पटक यस बिषयमा पटक पटक कुरा उठे पनि सरकारकाे ध्यान अझै जान सकेकाे छैन । चिनियाँ सरकारको सहयोगमा २० करोड लगानीमा २०३२ सालमा हेटौंडा कपडा उद्योग स्थापना भएको थियो। यसले २०३५ सालबाट उत्पादन शुरू गरेको थियो । २०५७ फागुन १ गते तत्कालीन सरकारले उद्योग बन्द गर्ने निर्णय गर्नुअघि यो उद्योग सञ्चालनमा थियो।
हेटौंडाकाे औद्योगिक क्षेत्रभित्र रहेकाे पुरानाे कपडा उद्योगमा अहिले शसस्त्र प्रहरीको क्याम्प खडा गरिएकाे छ । करिब आठ सय ५० रोपनी क्षेत्रफलमा फैलिएको उद्योग दुई सय ५६ आफ्नै स्वामित्वको र बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हो । यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३० घरटहरा छन्।
उद्योग शुरूआती केही समय नाफमा रहे पनि बिस्तारै घाटामा जान थालेको थियो। यसको क्षमता बढाउने, निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने बनाउने प्रयास पनि भएका थिए। तर, लगातार घाटामै गएपछि मन्त्रिपरिषद्ले बन्द गर्ने निर्णय गरेको थियो।
त्यति वेला वार्षिक दुई हजार तीन सय मेट्रिक टन धागो, दुई करोड ५० लाख मिटर कपडा उत्पादन हुन्थ्यो। दिनमा करीब ६९ हजार मिटर कपडा उत्पादन गर्ने क्षमता रहेको व्यवस्थापन कार्यालयले जनाएको छ। यो उद्योगले सुती कपडामा मुलुकलाई आत्मनिर्भर बनाएको थियो। झण्डै एक हजार दुई सय कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका थिए। अहिले पनि उद्योगमा ४८६ वटा कपडा बुन्ने तान र १४ हजार ६८८ वटा स्पिन्डल छन्। उद्योग सञ्चालन हुदा १५ सयभन्दा बढीलाई रोजगारी दिएको थियो।
अहिले हेटौंडा औद्योगिक क्षेत्रका धेरै जस्तो उद्योगहरु बन्द भएकाे र बन्द हुने क्रममा रहेकाे छ ।भारत बंगलादेशबाट पनि राेजगारीकाे लागि यहाँ मानिसहरु आउने गर्दथे । भवन जिर्ण अवस्थामा रहेकाे छ ।
उद्योगका कमचारीहरु बोक्न प्रयोग गरिने बस ३ वटा अझै पनि रहेकाे छ । ना १ ख २४० र अर्काे ना.घ. ३२९ लेखिएकाे दुई वटा बसकाे नम्बर स्पष्ट देख्न सकिन्छ भने एउटा बसकाे नम्बर मेटिसकेकाे छ ।
लामो समयदेखि बन्द रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सरकारले सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग सञ्चालनमा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने बताएका हुन् ।
बन्द भएका उद्योग कलकारखानाहरु पुर्ण रुपले सञ्चालनमा आउन सक्यो भने धेरैले स्वदेशमै रोजगारी पाउन सक्छन् । त्यसैले यस विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण हुन जारुरी रहेकाे छ ।
