बागमती गाउँपालिकामा भाेलि देखि गरिब परिचय-पत्र वितरण गरिदैं, १७ सय ७५ जनाले पाउने ।

बागमती, मकवानपुर  ।

मकवानपुरको बागमती गाउँपालिकाले भाेलि देखि गरिब परिचय-पत्र वितरण गरिने भएको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशित गर्दै भोली बैशाख २५ गते देखि जेठ ४ गतेसम्म १ हजार ७ सय ७५ घरपरिवारलाई गरिब परिचय-पत्र वितरण गरिने जनाएको हो ।

भोलि वडा नम्बर ८ बाट गरिब परिचय-पत्र विरतण गर्ने पालिकाका प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिए । उक्त वडामा १८७ परिवारलाई परिचयपत्र वितरण गरिनेछ । त्यसैगरी ६ नम्बर वडाका १५६परिवार, ७ मा १२० परिवार , ९ मा १५६ परिवार , ५ मा २२७ परिवार , ४ मा २०६ परिवार, १ मा २१७ परिवार, २ मा २७० परिवार र ३ नम्बर वडामा २३६ परिवार गरी जम्मा १ हजार ७ सय ७५ घरपरिवारलाई परिचय-पत्र वितरण गरिने भएकाे छ ।

गाउँपालिकाले परिचयपत्र लिन गरिब घरपरिवारमा सूचिकृत परिवार मूलिको सक्कल नागरिकता र २ प्रति फोटो लिएर आफ्नो वडा कार्यालयमा उपस्थित हुन भनिएको छ । पालिकाले २०७५ माघ ५ गतेदेखि करिब ६ महिना गरिब घरपरिवार पहिचानका लागि एक जना सुपरिवेक्षक र ६ जना गणकहरुलाई तथ्याङ्क सँकलनका लागि घरदैलाेमा परिचालन गरेको थियो । तथ्याङ्क सँकलन कार्य ६ महिनाका लागि भनिए पनि काेराेना महामरीका कारण लम्विएकाे थियाे । गणकहरुकाे प्रश्नमा आएकाे उत्तर अनुसार मन्त्रालयले विश्लेषण गरि गरिवलाई तीन वर्गमा छुट्याईएकाे छ । सरकारले गरिबीका आधारमा तीन प्रकारका कार्ड  वितरण गर्नेछ । अति गरिबले रातो कार्ड पाउनेछन् भने मध्यम गरिवले पहेँलो कार्ड र सामान्य गरिबले नीलो कार्ड पाउनेछन् ।

 

पालिकाका प्रशासकीय अधिकृत झम्कनारायण घलानका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा सञ्चालित गरिब घरपरिवार पहिचान तथा परिचय-पत्र वितरण कार्यविधि- २०७९ अनुसार परिचयपत्र वितरण थालिएको बताए । उनले बास्तविक गरिव घरपरिवार पहिचान तथा प्रारम्भिक सूचि, गुनासो, दर्ता लगायत प्रक्रिया मार्फत अन्तिम गरिब घरपरिवारको सूचि प्राप्त भएकाहरुलाई मात्र परिचय-पत्र वितरण गरिने जानकारी दिए ।

 

परिचयपत्र पाएकाहरुले सरकारबाट पाउने सुविधा के हुने भन्ने सरकारले ठाेस निर्णय गरेकाे देखिदैन । उनीहरुलाई राज्यले शिक्षा, स्वास्थ्य, आवास, खाद्यन्न, लगायतका विभिन्न सेवा सुविधामा सहुलियत र अनुदान दिने योजना त छ । तर, अहिलेसम्म कस्ता सहुलियत दिने भनेर टुंगो भने लगाइएको छैन ।

 

गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको पहिचान सुरु गरेको थियो । गरिबलाई परिचयपत्रको आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तामिल, सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने सरकारकाे दायित्व छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *