जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिकाको स्थानीय शिक्षा ऐन अनुसार बहाल वाला जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भएको छ l

पालिका द्वारा जारी  स्थानीय शिक्षा ऐन २०७४ अनुसार बहाल रहेको  जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको प्रमुख पद अध्यक्ष हुन नपाउने पालिका अध्यक्ष सर्केश घलानले बताउनु भयो l पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित पालिका स्तरीय सामुदायिक विद्यालयका अध्यक्षहरुको भेलामा प्रमुख अतिथि घलानले सो कुराको  जानकारी गराउनु भएको हो l

वर्तमान संविधान अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको  शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ, यस सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यन्वयन अनुगमन, मुल्यांकन र नियमन समेत स्थानीय सरकारले गर्नु पर्ने भएकोले जनप्रतिनिधि आफै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएमा अनुगमन, मुल्यांकन, नियमनको कार्य गर्ने अन्य निकाय नहुने हुँदा सो पालिकाको ऐनमा उक्त व्यवस्था गरिएको अध्यक्ष घलानले स्पष्ट पार्नु भयो l साथै जनप्रतिनिधि त्यसै पनि विद्यालय प्रति जिम्मेबार हुने हुँदा अध्यक्ष नै बनिरहनु नपर्ने अध्यक्ष घलानको  तर्क थियो l

विद्यालयको  आर्थिक पारदर्शिताको सन्दर्भमा विव्यस सजग हुनु पर्ने साथै शैक्षिक सुधारमा लाग्न सहभागी विव्यस अध्यक्षहरुलाई आग्रह गर्दै हाल विद्यालयहरुमा भएका  अनियमिताको सन्दर्भमा आएका  गुनासो अनुसार विद्यालयहरु अनुगमन गरी नियमन गर्न पालिका अघि बढ्ने अध्यक्ष घलानले बताउनु भयो l विद्यार्थीको  अनुशासन र व्यवहार परिवर्तन पनि शैक्षिक   सुधारको महत्वपूर्ण  कार्य भएकोले यस प्रति ध्यान दिन सबैलाई आग्रह गर्नु भयो l साथै अन्य विद्यालयहरुबाट हाम्रो पालिकामा अध्ययन अवलोकनको लागि भ्रमण आउने वातावरण सिर्जना गर्नु पर्नेमा अध्यक्षहरुलाई सुझाव दिनु भयो l आगामी दिनमा विद्यार्थीहरुको प्रतिभा पहिचान गरी विद्यार्थीहरुको क्षमताको आधारमा कुनै न कुनै विधामा विद्यालयहरुले उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिन अध्यक्ष घलानले  आग्रह  गर्नु भयो l

आफू जनप्रतिनिधि भएको छोटो समयमै विद्यालयहरुको सामाजिक परिक्षणको  सिलसिलामा पालिका अन्तर्गतका अधिकांश विद्यालयहरुको स्थलगत अनुगमन गर्न सफल भएको सामाजिक विकास संयोजक कमान सिं पाख्रिनले भेलामा जानकारी गराउनु भयो l हाल विद्यालयहरुको भौतिक पूर्वाधारको पक्षमा धेरै राम्रो रहेको र अब पालिको शैक्षिक स्तर सुधारमा सबैको ध्यान केन्द्रित हुनु पर्नेमा संयोजक पाख्रिनले जोड दिनु भयो l  यसै वर्षदेखि केही मापदण्डका आधारमा उत्कृष्ट विव्यस अध्यक्ष, प्रधानाध्यापक तथा  शिक्षकलाई सम्मान गर्ने योजना   पालिकाको रहेको कुरा संयोजक पाख्रिनले भेलामा जानकारी गराए  l

गाउँपालिका अध्यक्ष  सर्केश घलानको प्रमुख आतिथ्य तथा पालिकाको सामाजिक विकास संयोजक एवम् वडा नं. ३ का  अध्यक्ष कमान सिं पाख्रिनको सभाध्यक्षमा  भएको उक्त भेलामा वडा नं. ४ का अध्यक्ष दन्तलाल माझी, वडा नं. ५ का अध्यक्ष विजय भोलन,  प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, विव्यस महासंघका केन्द्रिय सचिव देवी खड्का, केन्द्रिय संयोजक योग बहादुर थापा, शैक्षिक जागरण मंचका अध्यक्ष वीरबहादुर राई, शिक्षा नीति तथा अभ्यास केन्द्रका फिल्ड सहायक माइकल राई लगायत  पालिका अन्तर्गतका ५० वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितका अध्यहरुको उपस्थिति रहेको थियो l साथै भेलाले बच्चु खड्का गोलेको अध्यक्षता पन्ध्र सदस्यीय पालिका स्तरीय विव्यस संजाल समेत गठन गरेको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *