बागमती प्रदेशभरी सात दिनमा ९ लाख ७९ हजार पीपीआर रोग विरुद्धका खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सञ्चालन गरेको पीपीआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान पुरा भएको छ ।
मन्त्रालयले १ फागुन देखि प्रदेशका १३ वटै जिल्लामा सप्ताहव्यापी रुपमा सञ्चालन गरेको भेडाबाख्रालाई लाग्ने पीपीआर रोग विरुद्धको खोप अभियान आइतबार सकिएको हो ।
सात दिनमा प्रदेशका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ वटा बाख्रालाई गरि जम्मा ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई उक्त खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले जानकारी दिए ।
खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको पोखरेलले बताए । अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ ।
पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *