बागमती प्रदेशका राजधानी हेटाैंडासँग पुर्वी जिल्लाहरु जाेड्ने सडक निर्माण हुँदै

बागमती सन्देश ,

बागमती ।

बागमती प्रदेशका पूर्वी जिल्लाहरूलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने छोटो दूरीको र व्यवस्थित सडक निर्माण गर्न स्थानीय तहहरूले साझा प्रयास थालेका छन्।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल तथा काभ्रे, ललितपुर र मकवानपुरका पालिकाका प्रमुखसहितको संयुक्त बैठकले उक्त सडक निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीको संयोजनमा मकवानपुरको बागमती गाउँपालिकाको कार्यालय झुरझुरेमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। प्रस्तावित सडकको ललितपुर र मकवानपुरको सीमामा पर्ने बागमती नदीमा पुलको अभावमा हिउँदको समयमा कल्भर्ट राखी जोखिममा सवारीसाधन आवतजावत भए पनि वर्षायाममा बन्द हुने गरेको छ।
काभ्रे जिल्लाको पनौती, ललितपुरको महाँकाल र बागमती गाउँपालिका तथा मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीबाट धरान–चतरा सडक हुँदै हेटौँडा जोड्ने सडक निर्माण गर्न लागिएको हो। स्थानीयको प्रयासमा उक्त सडक निर्माण गर्न प्रदेश तथा सङ्घीय सरकारमा रहेकाहरूको उपस्थितिमा यसअघि पनि संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गरिएको थियो। तर, काभ्रेको पनौतीदेखि मकवानपुरको फापरबारी बजारसम्म नै सडकको ट्र्याक खुलिसकेको भए पनि सडक स्तरोन्नतिका लागि यसअघि पर्याप्त चासो र प्रयास नभएका कारण सडक निर्माणले गति पाएको छैन।
ललितपुरको खुर्मी र मकवानपुर बागमती गाउँपालिकाको बलौटेलाई जोड्ने पुल निर्माण नभएका कारण उक्त सडकखण्डमा हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएको छ। उक्त स्थानमा पक्की पुल निर्माण गर्न यसअघि नै विस्तृत परियोजना प्रस्ताव (डीपीआर) बनाइएको बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसूदन तिमल्सिनाले जानकारी दिनुभयो। उहाँका अनुसार बागमती गाउँपालिका–७, गिम्दीको खुर्मीमा पक्की पुल निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत आगामी आर्थिक वर्षबाट नै बजेट व्यवस्थापन गरी निर्माण थाल्ने निर्णय भएको छ।

बैठकमा मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्रकुमार तिमल्सिना, ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, महाँकाल गाउँपालिका अध्यक्ष गणेश केसी र उपाध्यक्ष डोल्मामाया गोले, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका अध्यक्ष अधिकारीसहित उपाध्यक्ष तारा राना तिमल्सिना र निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, पालिकाका प्रशासकीय अधिकृतहरू, वडाध्यक्षहरू, योजना शाखाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।  बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आ–आफ्नो पालिकाको क्षेत्रमा पर्ने सडकको आफैँले डीपीआर गर्ने सहमति पालिकाबीच भएको जानकारी दिनुभयो।

प्रस्तावित सडक निर्माणपछि बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका बासिन्दालाई अहिले प्रयोग हुँदै आएको काठमाडौँ पुगेर लामो दूरी तय गर्दै प्रदेश राजधानी हेटौँडासम्म जानुपर्ने बाध्यताको अन्त्य हुनेछ। हाल काभ्रेको बेथानचोकसम्म सडक सामान्य स्तरोन्नति भइसकेको छ। बेथानचोक ढुङर्खकबाट हेटौँडासम्म ९६ किलोमिटरको दूरी रहेकोमध्ये हेटौँडा–फापरबारी सडकखण्डको ४३ किलोमिटर सडक धरान–चतरा–हेटौँडा सडकखण्डअन्तर्गत कालोपत्रे भइसकेको छ। बेथानचोकको ढुङर्खकदेखि फापरबारीसम्म करिब ५३ किलोमिटर सडक स्तरोन्नतिपश्चात् काभ्रेलगायत पूर्वी जिल्लाबाट हेटौँडा पुग्ने छोटो दूरी तय गर्दै अहिलेको भन्दा कम समयमा सहजै पुग्न सकिन्छ। बेथानचोक गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त सडक निर्माणपछि काभ्रेलगायतका पूर्वीका बासिन्दालाई प्रदेश राजधानी हेटौँडासम्म पुग्न सहजतासँगै भित्री मधेशबाट उपत्यका प्रवेश गर्ने व्यापारिक महत्वको सडकका रूपमा विकास हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *