बागमती । मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधी जनता माविले उचालेको छ । प्रतियोगिता अवधिभर १२ स्वर्ण, ७ रजत र ९ कास्य जितेर जनता मावि पहिलो बनेको हो ।
१० स्वर्ण, ४ रजत र ६ कास्य जितेर देवकी मावि दोस्रो भएको छ भने ७ स्वर्ण, ११ रजत र ७ कास्य जितेर सूर्य मावि तेस्रो भएको छ । बागमती माविले ३ स्वर्ण, ५ रजत र १ कास्यसहित चौथौं भएको छ । चौराह आविले ३ स्वर्ण , १ रजत, पञ्चकन्या आविले २ स्वर्ण २ रजत र १ कास्य, बनदेवी आविले १ रजत र १ कास्य, ज्ञानमन्दिर आवि १ स्वर्ण, बाघभैरव मावि ३ रजत र महाबुद्ध आवि सबै विधामा शून्यमा रह्यो ।
प्रथम भएको जनता माविले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो हुने देविकी माविले २० हजार र तेस्रो हुने सूर्य माविले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
सबैभन्दा धेरै स्वर्ण पदक जितेर देवकी माविकी निमा स्याङ्बो सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । जनता माविका शिक्षक जयनेपाल थापा उत्कृष्ट खेल शिक्षक बने भने सबैभन्दा बढी खेलाडी सहभागी गराउने पनि जनता मावि नै रहेको छ । मार्सल आर्टतर्फ उत्कृष्ट खेलाडी सूर्य माविका विराज सिंतान बनेका छन् भने उत्कृष्ट मार्चपास सूर्य माविले गरेको छ ।
माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटा वडाका ११ वटा विद्यालयका ४१३ जना विद्यार्थीहरु सहभागी थिए । प्रतियोगितामा भलिवल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट लगायत ४ वटा विधाका खेलहरु भएका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं पालिका अध्यक्ष सर्केश घलानले आगामी दिनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई अझै व्यवस्थित गराउने बताउनुभयो । उहाँले जिल्लास्तरीय प्रतियोगिताहरुमा सहभागी हुन जाने खेलाडीहरुलाई खाना तथा आवास लगायत व्यवस्थापन पालिकाले नै गर्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी पालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, ९ वटै वडाका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रअहरुलगायतको सहभागिता रहेको थियो ।