बागमती । पाँचौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि अमेरिकन क्लब भुटनिज युथ स्पोर्टसले हात पारेको छ । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता मावि खेल मैदानमा संकट क्लबलाई टाइब्रेकरमा ८–७ गोलअन्तरले पराजित गर्दै अमेरिकन क्लब च्याम्पियन बनेको हो । निर्धारित समयमा २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेरमा गरिएको हो ।
भुट्नीजका लागि प्रविण बस्नेतले गोल गरेका थिए । त्यस्तै खेलको छैठौँ मिनेटमा बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै टोली २–० को अग्रता दिलाए । तर, त्यो अग्रता पहिलो हाफको खेलमै तोडियो । संकटाका सुनिल बलले खेलको ९ र २२ औं मिनेटमा गोल गर्दै संकटालाई बराबरीमा फर्काए । सुनिलले पहिलो गोल हेडमार्फत गर्दा दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए ।
भुटनिजका गोलरक्षक पूजन थापामगर म्यान अफ दी फाइनल घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । उनले संकटाका सुरजज्यू ठकुरीले प्रहार गरेको पेनाल्टी रोक्दै आफ्नो टोलीलाई उपाधि दिलाएका थिए । उपाधिसहित भुटनिजले नगद ८ लाख र संकटाले ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।