बागमती । संकटा क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा संकटाले मकवानपुर –११ लाइ २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफको १६ र दोस्रो हाफको १७ औं मिनेटमा एण्डिभ थेरी वियेकले १÷१ गोल गरेर संकटाको फाइनल यात्रा तय गरेको हो । पहिलो हाफको ४० औं मिनेटमा मकवानपुरका एलिस चौलागाईले खेल बराबरीमा ल्याउन गोल गर्ने सुन्दर अवसर पाएपनि त्यो गुमाउन पुग्यो ।
आजको खेलको म्यान अफ दि म्याच संकटाकै एण्डिभ थेरी वियेक भएका छन् । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।
संकटाले भुटनीज युथ स्पोर्टस् क्लबसंग माघ ३ गते फाइनल खेल खेल्नेछ । प्रतियोगितामा विजेता टिमले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बागमती खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।