

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ स्थित आकाशधारामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको कार्यक्रममा स्थानीयहरुले लालपूर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य, विकास निर्माण र उपमहानगरपालिकाको सेवा प्रवाहका बारेमा जिज्ञासा राखेका थिए । तामाङ बाहुल्य रहेको यस बस्तीका बासिन्दाले लामो समयदेखि पहल गरेपनि आफुले हकभोग गरेको जमिनका लालपूर्जा पाउन सकेका छैन । त्यस्तै खानेपानी, शिक्षा र स्वास्थ्यको पनि समस्या रहेको छ ।
स्थानीयहरुको जिज्ञासा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले लालपूर्जा बितरणको पहल भइरहेको बताइन् । ‘संघीय सरकारले बितरण गर्ने भएकाले केही ढिलाई भएको हो, हामीले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेका छौं’, उनले भनिन्, ‘हामीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता पुरा गर्न तयार छौं ।’ यस क्षेत्रमा स्तरीय सडक निर्माणको काम अघि बढाउन एक करोड रुपैयाँ बजेट बिनियोजन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरिन् ।
मेयर लामाले गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० मा हेटौंडा १६ मा उपमहानगरपालिकाले गरेको गरेका विकास निर्माणका काम, सुशासन र सेवा प्रवाह लगायतका बारेमा गरेका कामहरुको बारेमा समेत जानकारी दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै उपमेयर राजेश बानियाँले नगरकै बिकट क्षेत्र भएकाले आकाशधार, पानीसारा लगायतको क्षेत्रको विकासमा प्राथमिकता दिएको बताए । ‘हामीले नगरका अन्य वडाहरुमा भन्दा ग्रामिण क्षेत्रको विकासमा प्राथमिकता दिएका छौं’, उनले भने, ‘तपाईहरुले उठाउनुभएको विकास निर्माणका विषयहरु हामी क्रमशः सम्बोधन गर्दै जानेछौं ।’
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाईले हेटौंडा उपमहानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । ‘कार्यालयमा आएका सेवाग्राहीलाई फर्काउने हाम्रो चहाना हुँदैन, तर कतिपय कागजात नपुग्दा काम नभएको हुनसक्छ, हामीले मुस्कान सहितको सेवा दिँदै सबै सेवाग्राहीलाई खुशी बनाएर पठाउने हाम्रो लक्ष्य हो ।’
हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष एवं बरिष्ठ पत्रकार प्रताप विष्टले यस क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्न उपमहानगरपालिकासँग सहकार्य गरेर काम गर्न बोर्ड तयार रहेको बताए । कार्यक्रम समापन गर्दै हेटौंैडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले जनताको सेवा र यस क्षेत्रको विकासमा आफु निरन्तर लागि परेको बताए । ‘तपाईहरुको समस्या र गुनासो धेरै सम्बोधन भएको जस्तो लाग्छ मलाई, आगामी दिनमा थप प्रभावकारी कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु’, उनले भने ।
कार्यक्रमको मध्यस्थता मिडिया प्रालि हेटौंडाले संयोजन गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बिभिन्न महाशाखा तथा विषयगत कार्यालयका प्रमुखहरु र स्थानीयबासीहरुको सहभागिता रहेको थियो । आकाशधारा हेटौंडा उपमहानगरको बिकट बस्तीमध्येको एक हो ।
