

हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालले आज (शनिबार) हेटौंडा ९ लामसुरे ढापस्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीको नेतृत्वमा भएको शिविरमा आश्रमका १ सय ४९ जना विरामीहरुको स्वास्थ्य जाँच गरिएको हो ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसुती रोग, मृगौला रोग , छाला रोग, हाडजोर्नी लगायत रोगहरुको उपचार सेवाका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा ८० जना महिला र ६९ जना पुरुषले स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका प्रमुख प्रशासकिय अधिकृत अमर अधिकारीले बताए ।

स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर शान्ति कुमारी जोशी, एम.डि.जि.पि. डाक्टर घनश्याम साह, डाक्टर अमर यासिर, जनरल मेडिसिन डाक्टर श्याम कुमार साह र डाक्टर आयुषा भण्डारीले सेवा प्रदान गरेका थिए । अधिकांश विरामीहरुमा मानसिक तथा छालासम्बन्धी समस्या रहेको पाइएको उपकुलपति प्रा.डा.जोशीको भनाई छ । उनले मानव सेवा आश्रममा आश्रित रहेकाहरु विरामी भएको अवस्थामा हेटौंडा अस्पतालले निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि बताए ।

कार्यक्रममा प्रतिष्ठान तथा हेटौंडा अस्पतालका नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
