पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता पुष २५ गतेदेखि सुरु हुने

बागमती । मकवानपुरको बागमती गाउँपालिकाद्धारा आयोजित पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता यहि पुस २५ गतेदेखि सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।

आगामी माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ए डिभिजन क्लबका ७ वटा, विदेशी टिम १, आयोजक टिम १ र जिल्ला तथा प्रदेशस्तरीय क्लबबाट १ टिम गरेर कुल १० वटा टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेता टिमले ८ लाख रुपैयाँ, उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, विधागत उत्कृष्ट खेलाडी अन्तर्गत प्रति खेलाडी १० हजारका दरले ६० हजार रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच घोषित खेलाडीले ४५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

बागमती – ८ फापरबारीस्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगिता सञ्चालन गर्न कुल ७१ लख ११ हजार २ सय रुपैयाँ खर्च लाग्ने बागमती खेलकुद विकास समिति अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरिसकेको र बाँकी रकम प्रायोजक र विज्ञापन मार्फत संकलन गरिनेछ ।

२०७७ सालमा आयोजित चौथौं संस्करणको उपाधी “ए” डिभिजन क्लब थ्रीस्टारले जितेको थियो । प्रतियोगिताको मिति तय भएसंगै खेलमैदान निमार्ण तथा सरसफाईको कार्यलाई तिब्र पारिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *